चैत–१०, खोटाङको पञ्चिमी क्षेत्रमा पर्ने बडहरेमा एसएलसी परीक्षा दिइरहेका दर्जन बढी विद्यार्थी बिरामी परेका छन् । बडहरेस्थित लक्ष्मी उच्च मावि खोक्सेली परीक्षाकेन्द्रबाट एसएलसी परीक्षा दिइरहेका १८ विद्यार्थी बिरामी परेका हुन् । 
टाउको दुख्ने, ज्वरो आउने, हातखुट्टा खाने, हातखुट्टा बाँडिने, बान्ता गर्ने, पेट दुख्ने लगायतका लक्षण देखिन रोगका कारण परीक्षा दिइरहेका विद्यार्थी बिरामी परेको केन्द्राध्यक्ष मणिकुमार गिरीले बताउनुभयो । बिरामीका कारण असक्त बनेका कारण आइतबार दुई जना परीक्षार्थीलाई सहयोगी राखेर परीक्षा दिने व्यवस्था मिलाइएको श्रोतब्यक्ती पेशल आचार्यले बताउनुभयो । 
एक जना बिरामी विद्यार्थीले भने परीक्षा हलमा आराम गर्दैै आफै परीक्षा दिएका श्रोतब्यक्ति आचार्यले जानकारी दिनुभयो । केन्द्राध्यक्ष गिरीका अनुसार दाम्ली मावि डिकुवाका १३ जना र च्यास्मीटार मावि च्यास्मीटारका ५ जना विद्यार्थीको स्वास्थ्यउपचार गरिएको छ । 
विद्यार्थी बिरामी परेको जानकारी आएलगत्तै अहेव शिवनारायण साहका साथमा विद्यार्थी बसेको डेरा–डेरामा गएर उपचार गर्नेक्रमलाई निरन्तरता दिइएको केन्द्राध्यक्ष गिरीले बताउनुभयो । स्वास्थ्य परीक्षणमा संलग्न अहेव साहका अनुसार विद्यार्थीमा १०२ देखि १०४ डिग्रीसम्मको ज्वरो देखिएको छ । 
विद्यार्थीमा देखिएको महामारीका कारण परीक्षा प्रभावित हुने अवस्था आएको केन्द्रले जनाएको छ । यसबारेमा आफूलाई कुनै जानकारी नआएको जिल्ला अस्पताल खोटाङका डाक्टर नवलकिशोर झाले बताउनुभयो ।