चैत–१४, खोटाङमा दलित भएकै कारण एसएलसी दिन गएका तीन जना दलित परीक्षार्थी कोठाबाट निकालिएका छन् । एसएलसी दिन सिम्पानीस्थित सिम्पानी उच्च मावि परीक्षा केन्द्र पुगेका बतासेका तीनजना दलित परीक्षार्थी कोठाबाट निकालिएका हुन् । 
बतासेस्थित जनता उच्च मावि भण्डारीडाँडाबाट एसएलसी दिन गएका बतासे–२ का विजय विश्वकर्मा, अमिन विश्वकर्मा र टेकराज विश्वकर्मा दलित भएको थाहा भएपछि कोठाबाट निकालिएका प्रधानाध्यपक हेम्बर बस्नेतले बताउनुभयो । हाल काठमाडौंमा रहेका सिम्पानी–८ का राजेन्द्र खड्काको घरमा बसिरहेका परीक्षार्थीलाई दलित भएको थाहा भएपछि घर हेरचाह गर्दै आएका खड्काको काकाका छोरा जितेन्द्र खड्काले कोठाबाट निकाला गरेका हुन् । 
एसएलसी अवधिभर प्रतिब्यक्ति ८ सय भाडा लिनेदिने शर्तमा दलित विद्यार्थीहरु खड्काको घरमा बसेका थिए । उनीहरुलाई प्रतिब्यक्ति प्रतिछाक एक सयका दरले खाना खुवाउने शर्तमा खड्काको घरमा अग्रिम कोठा लिइएको विजयका बुबा बलबहादुर विश्वकर्माले बताउनुभयो । 
सिम्पानी परीक्षा केन्द्रबाट जनता उच्च मावि बतासेका करिब ५० जना दलित विद्यार्थीले एसएलसी दिइरहेका छन् । परीक्षा केन्द्रका केन्द्राध्यक्ष राजनप्रसाद ढकालले भने घटनाका विषयमा जानकारी नभएको बताउनुभयो । 
एसएलसीको परीक्षा शुरु हुनुभन्दा अघिल्लो दिन फागुन–५ गते कोठामा पुगेका परीक्षार्थीलाई दलित भएको थाहा भएपछि त्यसै रात निकाला गरिएको नेपाल राष्ट्रिय दलित कल्याण संघ बतासेका अध्यक्ष समेत रहेका बलबहादुरको भनाइ छ । कोठाबाट निकालिएपछि तीन विद्यार्थीले हाल स्थानीय शंकर खड्काको घरमा बसेर परीक्षा दिइरेका छन् । उनीहरुलाई प्रधानाध्यपक बस्नेत लगायतको सहयोगमा अर्को ठाउँमा कोठाको व्यवस्था मिलाइएको हो । 
परीक्षामा असर पुग्ने भएका कारण तत्काल यो विषयमा आवाज नउठाइएको नेपाल उत्पीडित जातीय मुक्ती समाजका केन्द्रीय सदस्य चर्चबहादुर विश्वकर्माले बताउनुभयो ।