चैत–१४, खानेपानीको समस्या भएपछि खोटाङको हलेसीमा पम्पिङ गरेर पानीको व्यवस्था मिलाउने तयारी गरिएको छ । धार्मिक तथा पर्यटकीयस्थल अर्थात पूर्वको पशुपती नाथ भनेर चिनिने महादेवस्थानस्थित डाँडाबजारमा पानीको कुनै श्रोत नभएपछि रानीपोखरीको पानी पम्पिङ गरेर निकाल्ने पहल थालिएको हो । 
रानीपोखरीको पानी विद्युतीय पम्पमार्फत तानेर स्थानीय हेलीप्याड छेउको ट्यांकीमा जम्मा गर्ने र बितरण गर्ने पहल थालिएको स्थानीयको भनाइ छ । यसका लागि रानीपोखरीछेउमा ५० हजार घनलिटरको नयाँ ट्यांकी निर्माण गरिने भएको छ । 
हलेसी–४ र ५ का उपभोक्तालाई लक्षित गर्दै पानीलाई माथि निकाल्ने पहल थालिएको स्थानीय शिक्षक नबिन चाम्लिङले बताउनुभयो । स्थानीय हलेसी खानेपानी उपभोक्ता समितिका अध्यक्ष वाङ्चु शेर्पा र सभाषद पिके राईको पहलमा पानी पम्पिङ गर्ने तयारी गरिएको हो ।