चैत–१४, खोटाङका एक दलित परिवारको जग्गा छिमेकी गैंरदलित परिवारले हडपेका छन् । जिल्लाको साउनेचौंर–७ का बिचारी दर्जीको जग्गा छिमेकी चार गैंरदलित परिवारले हडपेका हुन् । 
२०६९ साल चैत्र–४ गते जिल्ला मालपोत कार्यालय खोटाङबाट श्रीमतीको नाममा पास गरिएको कित्ता नम्बर ११४ को जग्गा स्थानीय कृष्णप्रसाद निरौला र तुलसी निरौलाले, कित्ता नम्बर १८१ को जग्गा रामप्रसाद बञ्जराले तथा कित्ता नम्बर १८५ को जग्गा स्थानीय छत्र राईले कब्जा गरी भोग चलन गर्न नदिएको दर्जीको भनाइ छ । दर्जी परिवारले हडपिएको जग्गा स्थानीय चन्द्रबहादुर परियारबाट २०६४ सालमा खरिद गरेका थिए । 
५४ हजारमा किनेको जग्गामा हाल सँधीयारहरुले खेती लगाउन नदिइएको र जग्गामा भएको रुख काटेको दर्जीले बताउनुभयो । उहाँले भन्नुभयो,–‘नापनक्सा देखाउँदा समेत बरु केहि रकम लि, तर जग्गा पाउँदैनस् भन्ने गर्छन् ।’
चार वर्षअघि जग्गा किनेपनि हालसम्म भोगचन गर्न नदिएपछि पटक–पटक गरिएको छलफलकाक्रममा आफुहरुलाई नसोधी जग्गा किनेको भन्दै उनीहरुले दर्जी परिवारलाई जग्गामा बस्न नदिएको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार जग्गा किन्नु अघि सँधीयारको हैसियतले आफुहरुलाई सोध्नुपर्ने उनीहरुको तर्क छ । 
जग्गा हडपिएपछि धन र ज्यानको सुरक्षाको माग गर्दैै दर्जी परिवारले जिल्ला प्रशासन कार्यालय खोटाङमा उजुरी दिएका छन् । यसबारेमा के भएको हो ? छानबिन गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो ।
अपाङ्ग दाजु सहित चार दिन लगाएर सदरमुकाम दिक्तेल आएका बिचारीले आफूलाई दलित भएकै कारण खरिद गरेको जग्गा समेत भोगचलन गर्न नदिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,–‘जग्गा तेरो भएपनि हामी भोग चलन गर्छौँ भन्छन्,’ उजुरी दिन सदरमुकाम दिक्तेल आएका दर्जीले भने, ‘भोग चलन गरे ज्यान मार्ने धम्की आइरहेको छ, यसप्रति प्रहरी प्रशासनले समेत चासो दिएको छैन ।’
स्थानीयका अनुसार उनलाई आरोपितहरुले विभिन्न बहानामा पटक–पटक कुटपिट गर्दै आएका छन् ।