फाइल फाेटाे

खोटाङ, ६ फागुन (रासस) । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मानवअधिकार चोकबाट किराँत चोकसम्मको सडक गत वर्षमात्रै ढलान गरिएको थियो । उक्त सडकखण्डको विभिन्न ठाउँमा अहिले सहरी खानेपानी तथा सरसफाइ आयोजनाका ठेकेदारले ढलान काटेर खानेपानी विस्तारको काम भइरहेको छ ।

ढलान गरिएको सडकमा पारिएको खाल्डाखुल्डीले सवारीसाधन तथा पैदलयात्रुलाई समेत आवतजावतमा समस्या भएको छ । ढलान गरेर सञ्चालनमा ल्याइएको दिक्तेल बजारको सडकमा प्रयोग गरिएका रड काटेर खानेपानी आयोजनाको काम गर्दा कतिपय ठाउँमा पैदलयात्रु तथा सवारीसाधन खाल्डोमा पर्दै आएका छन् ।

ढलान गर्दा बिच्छ्याइएको रड टुक्रा पार्दै खाल्डो बनाएर खानेपानी जडान गरेपछि पुनः ढलान गर्दा ठेकेदारले बिनारड गिट्टी, बालुवा र सिमेन्टमात्रै प्रयोग गरेकाले उक्त सडक जीर्ण बन्दै गएको हो ।

खानेपानी आयोजनाका कारण सडक जीर्ण बन्दै गएको विषयमा कसैको ध्यान नपुगेको नेकपा (माओवादी केन्द्र)का युवानेता मिलनचन्द्र राईले आरोप लगाउनुभयो । “दिक्तेल बजारको सडक ढलान यसअघि नै गुणस्तरहीन थियो”, उहाँले भन्नुभयो, “अहिले निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजनाका कारण सडक झन जीर्ण बनेको छ । यसप्रति सम्बन्धित निकायको ध्यान नजाने हो भने ठूलो दुर्घटना हुने सम्भावना छ ।”

भत्काइएको सडक पुनः पुरानै अवस्थामा आउने गरी आयोजनाको काम गर्न ठेकेदार कम्पनीलाई आग्रह गरिएको उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताउनुभयो । “पहिले पाइप विस्तार गर्दा जडान गरिएका केही ठाउँमा समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “पुरानै अवस्थामा आउने गरी समस्याग्रस्त ठाउँमा काम गर्न ठेकेदार कम्पनीलाई भनिएको छ ।”

नेपाल सरकार सहरी विकास तथा भवन निर्माण विभागको रु पाँच करोडको लागतमा दिक्तेल बजारस्थित किराँत चोकबाट मानवअधिकार चोकसम्मको सडक गत वर्षमात्रै ढलान गरिएको थियो । क्रमागत योजनाअन्तर्गत मानवअधिकार चोकबाट हाटडाँडासम्मको बाँकी सडकमा अहिले ढलान भइरहेको छ ।

जिल्लाको सबैभन्दा ठूलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र तथा सदरमुकामसमेत रहेको दिक्तेल बजारको धुलाम्मे सडक यसअघि पनि पटक–पटक ढलानको प्रयास गरिएको थियो । दिक्तेल बजारकै केही स्थानीयवासीको अवरोधका कारण विभिन्न निकायबाट यसअघि आएको करोडौँ रकम कामै नगरी फिर्ता भएको थियो ।

निर्माणाधीन अवस्थामा रहेको सहरी खानेपानी तथा सरसफाइ आयोजनाको पाइप दिक्तेल बजारको सडक ढलान हुनुअघि जडान गर्दा नै ठेकेदार कम्पनीले कमजोरी गरेको उपभोक्ताको आरोप थियो । पुरानो खानेपानी आयोजनाको पाइप हटाइ सकिएकाले दिक्तेल बजारका कतिपय ठाउँमा अहिले पानी पुग्दैन ।

दैनिक हजारौँको सङ्ख्यामा मानिसको आवतजावत हुने दिक्तेल बजारमा सञ्चालित पुरानो खानेपानी आयोजनाबाट करिब ८०० वटा धारा वितरण गरिएको थियो । ती धारामा पानी नआएपछि बजारवासी आसपासको गाउँबाट पानी ल्याएर उपभोग गर्न बाध्य छन् ।

लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका बजारवासीलाई मध्यनजर गरेर रु २२ करोड ५५ लाख ५८ हजारको लागतमा खानेपानी आयोजना सञ्चालन गरिएको उपभोक्ता समितिले जनाएको छ । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत लगानी रहेको उक्त आयोजनाबाट दिक्तेल, सोल्मा र बाम्राङका एक हजार ४९ घरका बासिन्दालाई प्रशोधन गरिएको स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्यकासाथ आयोजनाको काम सुरु गर्दै आएको हो ।

निर्माणाधीन खानेपानी आयोजना परीक्षणका क्रममा रहेको र चाँडै उद्घाटन गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाइएको छ । निर्माणाधीन आयोजना सञ्चालन भएपछि मिटरमार्फत उपभोक्ताको घरमा चौबीसै घण्टा खानेपानी उपलब्ध हुने उपभोक्ता समितिले जनाएको छ ।