खोटाङ, ५ माघ ।
खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी–८ दोर्पा बुवालुङस्थित खावाडाँडा र उवाबारीमा निर्माणाधीन एकीकृत बस्ती अलपत्र परेको छ । सुरक्षित नागरिक आवास र पूर्वाधार विकास कार्यक्रमबाट रकम निकासा भएपनि निर्माण उपभोक्ताको लापरवाहीले उक्त दुवै एकीकृत बस्ती अलपत्र परेको हो ।

खावाडाँडामा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत २० घर लाभग्राहीका लागि एकीकृत बस्ती निर्माण शुरु गरिएको थियो । भूकम्प प्राविकरणबाट लाभग्राहीले पाउने पहिलो र दोस्रो किस्ता कित्ता बापतको रकम प्रतिघर दुई लाख रुपैंयाँ निकासा भएपनि घर निर्माण योजना भने अपूरै रहेको पाइएको छ ।

पूर्वाधार विकासका लागि प्रतिघर रु तीन लाखको दरले रकम लिए पनि काम भने अपूरै रहेको वडा सदस्य एवम् नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङका जिल्ला सदस्य हरि चाम्लिङले बताउनुभयो । निर्माणाधीन भौतिक संरचनाहरु खण्डहर बन्दै गएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “यसप्रति सम्बन्धित निकायले ध्यान नदिने हो भने, राज्यकोषको लाखौँ लगानी बालुवामा पानी सरह हुने निश्चित छ ।”

खावाडाँडामा निर्माणाधीन एकीकृत बस्तीका लागि घडेरी खार्ने, खानेपानी, टेवापर्खाल लगायतका लागि रु तीन लाखको दरले २० घरको रु ६० लाख बजेट निकासा भएर पनि फरफारक भइसकेको वडाध्यक्ष लीला चौहानले बताउनुभएको छ । यद्यपि, उक्त ठाउँमा निर्माणाधीन टेवा पर्खालको काम भने अपूरै रहेको पाइएको छ ।

उता बुवालुङकै उवाबारीमा निर्माणाधीन एकीकृत बस्ती पनि अलपत्र परेको पाइएको छ । उवाबारीमा वडाध्यक्ष चौहान लगायत २५ लाभग्राहीको घर निर्माणाधीन अवस्थामै अलपत्र परेको पाइएको हो ।

कतिपयको सुरक्षित नागरिक आवासको घर सिस्ने हर्कटे सामुदायिक वनको जग्गामा निर्माण गरिएको वडा सदस्य चाम्लिङले बताउनुभयो । “एकीकृत बस्ती भनेर अनकन्टार ठाउँमा संरचना निर्माण शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “यदि समयमै निर्माण सम्पन्न गरिएको भएपनि प्रयोगमा आउने थिएन ।”

बुवालुङमा सञ्चालित कतिपय योजनामा आर्थिक अनियमितता भएको स्थानीयले गुनासो गरेका छन् । नगरपालिकामा पटक–पटक गुनासो गर्दा नगरपालिकालेसमेत बेवास्ता गरेको स्थानीय बासिन्दाको आरोप छ ।

बुवालुङस्थित मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालयसम्मको सडक निर्माण गुणस्तरहीन भएको स्थानीयको आरोप छ । रु ८३ लाखको लागतमा निर्माणाधीन सडकमा सोलिङ र डन्डीबिनै ढलान गरिएको स्थानीय कृष्ण बुढाथोकीले बताउनुभयो ।

स्थानीय हरिकुमार खत्रीको अध्यक्षतामा बनेको उपभोक्ता समितिले २०७८ असोज १८ मा नगरपालिकासँग सम्झौता गरे पनि लोकमार्ग निर्माणमा रमण गोल्डेन जुड जेबीले निर्माणको काम गरिरहेको छ । उक्त सडकको बजेट नै कम भएकाले रड र सोलिङबिनाको इस्टिमेटकै आधारमा काम भइरहेको वडाध्यक्ष चौहानले बताउनुभयो ।

बुवालुङस्थित अन्नपूर्ण माविको सिँढी तथा पर्खाल निर्माणमा पनि आर्थिक अनियमितता भएको पाइएको छ । यसमा पनि उपभोक्ता समितिबाट श्रमदान गराएर रमण गोल्डेन जुड जेबीले मध्यपहाडी लोकमार्गकै निर्माण सामग्री उपलब्ध गराएर नगरपालिकाबाट भुक्तानी लिएको पाइएको छ ।

विद्यालयको सिँढी र पर्खालका लागि रु २० लाख १६ हजार निकासा भएको नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताउनुभयो । उक्त कामका लागि विष्णुमाया थापा अध्यक्ष रहेको सिँढी तथा पर्खाल निर्माण उपभोक्ता समितिले नगरपालिकासँग सम्झौता गरी भुक्तानी लिएको पाइएको छ ।

उक्त वडाको विभिन्न विकासे योजनाहरुमा अनियमितता भएको र उक्त अनियमिततामा वडाध्यक्ष चौहानको नाम जोडिएको छ । वडाध्यक्ष चौहानले भने विकास निर्माण लगायतका अन्य विषयमा आफ्नो नाम जोडेर आरोपमात्र लगाएको दाबी गर्नुभएको छ ।