खोटाङ असार–१२, खोटाङको साकेला गाउँपालिकाले आफ्नो पालिकाको जनसंख्या सन्तुलनमा राख्नका लागि नयाँ नीति अपनाएको छ । गाउँपालिकाबाट बसाइँ सरी जानेको संख्या दिनानुदिन बढिरहेकाले जनसंख्या सन्तुलनमा राख्न फरक नीति अपनाएको हो ।

आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममार्फत अन्यत्रबाट बसाइँ सरेर आउने प्रत्येक परिवारलाई सम्मान स्वरुप पाँच हजार नगद उपलब्ध गराउने नीति अघि सारेको हो । बसाइँसराइलाई न्यूनीकरण गर्नका लागि आधुनिक उपकरणसहितको स्वास्थ्य सेवा, रोजगारी, गुणस्तरीय शिक्षा, सडक सुविधा लगायतको कार्यलाई प्राथमिकता दिएर काम अघि बढाउने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

‘सुसंस्कृत, संस्थागत र समृद्ध साकेला’ भन्ने मूल नाराका साथ सम्पन्न १३ औँ गाउँसभाले आवधिक योजनामा समेटिएका गौरवका योजनाहरुलाई प्राथमिकता दिँदै आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । पाँच वटा वडा मात्र रहेको जिल्लाको सबैभन्दा सानो गाउँपालिकाले ३३ करोड ८८ लाख ८१ हजार अनुमानित बजेट प्रस्तुत गरेको छ ।

प्रस्तुत गरिएका नीति, कार्यक्रम तथा बजेटलाई गाउँसभाले बहुमत सदस्यले पारितसमेत गरेको छ । सभाध्यक्ष एवम् गाउँपालिका प्रमुख रविप्रकाश राईले साकेलाको गौरवको योजनाहरुलाई पूरा गर्न संघ तथा प्रदेश सरकारसँग निरन्तर समन्वय गरिने बताउनुभएको छ । गाउँपालिका पर्यटन प्रर्बद्दनमा बिशेष केन्द्रीत रहेको पाईएको छ । साकेलाको बृहत पर्यटकीय क्षेत्रको विकास गरी आगामी चार वर्षभित्र नमूना पालिका निर्माण गर्ने लक्ष्य लिईएको गाउँपालिकाका अध्यक्ष राईको भनाई छ । तावाभञ्ज्याङ क्षेत्रमा बृहत्त पर्यटन पूर्वाधार विकास अन्तरगत तावाताल निर्माणको विस्तृत परियोजना तयार भईसकेको छ । उक्त ताल निर्माणको अध्ययन गरि आवश्यकता अनुसार परिमार्जन गरि कार्य अघि बढाउने जनाईएको छ । त्यस्तै, मपारुङ, धन्नेश्वरी गुफा, साकेला पार्क, लामदुवाली, तावादोभान लगायतलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने समेत उल्लेख छ ।

आवधिक योजनामार्फत समेटिएका पूर्वाधारहरुमध्ये पालिकाको सिमानामा साकेला ट्रेल र साँस्कृतिक भिलेज निर्माण तथा पालिकालाई डिजिटल पालिका निर्माण गर्ने कार्यलाई प्राथमिकता दिने जनाइएको छ ।