खोटाङ पुस–६, गाउँगाउँमा लुकेर रहेका गायन प्रतिभाको पहिचान गर्दै अवसर प्रदान गर्ने उदेश्यका साथ शुरु गरिएको गायन प्रतियोगिता खोटाङ आईडलका लागि बाक्सिला केन्द्रमा गरिएको अडिसनबाट १६ जना प्रतिभा छनौट गरिएको छ । केपिलासगढी गाउँपालिकास्थित बाकिसलाबजारमा सम्पन्न पहिलो चरणको अडिसनमा सहभागी बनेका ५० जना प्रतियोगीमध्येबाट अबि राई, बर्षा राई, बिकास राई, बिना राई, दावा शेर्पा, ईजु राई छानिएका हुन् ।
परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिकाको आयोजनामा शुरु गरिएको प्रतियोगितामा सोही केन्द्रबाट जोन राई, मणि राई, निरज राई, मणि तामाङ, सन्तोष राई, शुभराज राई, सुमन राई, रोमन राई, प्रकाश नाछिरीङ र पर्बत राई समेत छनौटमा परेका हुन् । पृथ्बी उच्च माबिमा हालै सम्पन्न अडिसनका लागि न्यु स्टाईल रमेश टेलरिङ सेन्टरले सहआयोजकको भूमिका निर्बाह गरेका थिए ।
गत मंसिर २३ गते साकेला गाउँपािलकाको रतन्छाबाट शुरु भएको पहिलो चरणको अडिसनमा यसअघि नै ४५ जना प्रतिभा छनौट भईसकेका छन् । पहिलो अडिसन राउण्डमा साकेला गाउँपालिकाको रतन्छाबाट १० जना, दिप्रुङ गाउँपालिकाको पञ्चमीबजारबाट ११, खोटेहाङ गाउँपालिकाको खोटाङबजारदेखी १६ जना र जन्तेढुंगा गाउँपालिकाको चिसापानी बजारदेखी ८ जनालाई छानिएको आयोजक जीबनकुमार राईले जानकारी दिनुभयो ।
राईका अनुसार ८ गते ऐसेलुखर्क गाउँपालिकास्थित ऐसेलुखर्कबजार र १० गते लामिडाडाँ गाउँपालिका खार्पामा पहिलो चरणको अडिसन गर्ने तयारी छ । यस्तै, पौष–१२ गते हलेसी तुवाचुङ नगरपालिका हलेसी, १४ गते रुपाकोट मझुवागढी नगरपालिका बुइपास्थित पञ्चरदोबाटो र १७ गते नगरपालिकाको दिक्तेलबजारमा पहिलो चरणको अडिसन सम्पन्न गर्ने तयारी गरिएको छ ।
प्रतियोगिताका विजेतामध्ये प्रथमले ५४ हजार ५ सय ७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५ सय ७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्राले १० हजार ५ सय ७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्ने अवसर प्राप्त गर्ने छन् । वेष्ट भोकल एकजनाले २ हजार ५ सय ७४ नगदका साथमा प्रमाणपत्रको समेत ब्यवस्था गरिएको छ ।