फागुन–१४, अक्सर सांगीतिक कार्यक्रमहरुमा माईक्रोफोन लिएर मञ्चमा उत्रिने अनि अब्यक्त मिठाससहित सुरिलो स्वरबाट गीत प्रस्तुत गरिरहने एक रहर लाग्दो गायन प्रतिभा हुन् तेजकुमार राई । खोटाङस्थित केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको तेजकुमारसँग हाल जुन गायकीको लोभ लाग्दो ‘तेज’ भेटिन्छ, त्यो नहुन पनि सक्थ्यो ।
तेजकुमारलाई एक अध्ययनशील ब्यक्ति बनाउँदै निख्खर गायकको रुपमा स्थापित गर्न माउण्ट एभरेष्ट ईङलिस बोर्डिङ स्कुलले निस्वार्थ हिसाबले ठुलै लगानी गरिरहेका छन् । हाल फ्री स्कलरसीपमा उक्त बिद्यालयमा अध्ययनरत तेजकुमारको गायन क्षमताको पहिचान गर्ने अवसर भने गायन प्रतियोगिता ‘खोटाङ तारा’ले दिलाएको थियो ।
खोटाङ महासमाज काठमाण्डौंले २०६८ सालमा जिल्लामा आयोजना गरेको जिल्लाब्यापी गायन प्रतियोगितामा अनपेक्षित गायकी प्रस्तुत गर्दै उत्कृष्ट बीसमा पर्न सफल भएपछि तेजकुमारमाथि उक्त बिद्यालयको आँखा लागेको थियो । अब्बल गायन क्षमता राख्ने तेजको प्रस्तुतिबाट लोभिएका बिद्यालयका प्रिन्सिपलले तत्कालै तेजलाई बाल प्रतिभाको रुपमा कदर गर्दै बिद्यालयले माध्यमिक तहसम्म निःशुल्क अध्ययनको अवसर दिलाउने घोषणा गर्नुभएको थियो । 
सरकारी बिद्यालयमा अध्ययन गरिरहेको तेजकुमारले निःशुल्क रुपमा बोर्डिङ स्कुलमा अध्ययन गर्ने मौका पाएपछि शैक्षिक हिसाबले तीक्ष्णता त पाए नै, उनको गायन क्षमताको अझ तीब्र बिकास हुन पायो । 
बिभिन्न गायन प्रतियोगिताको उपाधी नजिक पुगेर पनि बाल आवाज भएकै कारण घर फर्कनुपरेको तेजकुमारको आवाजले पनि अब त परिपक्वता पाईसकेको छ । 
नेपालका बिभिन्न सांगीतिक प्रतियोगिताहरुमा भाग लिएर फाईनल चरणसम्म पुग्न सफल १६ बर्षिय तेजकुमार हाल खोटाङमा जारी गायन प्रतियोगिता ‘खोटाङ आईडल’को उत्कृष्ट–५ मा पर्न सफल बनेका छन् । 
बिद्यालयको अपार साथ पाएको तेजकुमार आफ्नो मेहनत, ईमान्दारिताका साथै सबैको सद्भाव र सहयोगले उपाधी नजिक पुगेको बताउँछन् । सबै प्रतिस्पर्धीको सम्मान गर्ने तेजले यो उपाधी आफ्नो लागि निक्कै महत्वपुर्ण भएकाले कडा मेहनत गर्ने बताउँछन् । 
हालसम्म पाईरहेको जस्तै निरन्तर मायाँ, सहयोग तथा सद्भावको साथ दर्शकको भोट पाए खोटाङ आईडलको पहिलो उपाधी आफ्नो नाममा दर्ता हुनेमा तेज आशाबादी छन् । 
तेजलाई अब्बल गायन प्रतिभाको रुपमा परिचय बनाएको हेर्ने ठूलो धोको भएको बिद्यालय परिवारले जनाएका छन् । बिद्यालयमा आयोजना हुने बिभिन्न अतिरिक्त क्रियाकलापमा समेत सक्रिय बन्दै उत्कृष्ट प्रस्तुति दिने तेजकुमार गायनमा मात्र होईन पढाईमा पनि उत्तिकै तेज छन् । कक्षाको पढाईमा प्रथम, दोश्रो वा तेस्रो स्थानमा कायम रहने प्रिन्सपल सागर जोशीले बताउनुभयो । 
मेहनती र ईमान्दार तेजकुमारलाई खोटाङ आईडलको उपाधी दिलाउन बिद्यालयको तर्फबाट प्रशस्त सहयोग गर्ने प्रिन्सिपल जोशीको भनाई छ । सामान्य परिवारमा जन्मिएका तेजकुमारमा एक अदृश्य प्रतिभा भएको महशुष गरेर नै त्यो प्रतिभाको प्रस्फुटन गराउन आवश्यक अवसर बिद्यालयले प्रदान गरेको बिद्यालय परिवार जनाउँछन् । त्यसबेला तेजकुमारलाई उक्त बिद्यालयको कक्षा–४ मा भर्ना गरिएको थियो ।  तेजको गायन प्रतिभालाई कदर गर्दै जारी प्रतियोगितामा जिताउन जति सक्दो धेरै भोट गर्न र आर्थिक सहयोग गर्न बिद्यालयले अपिल गरेको छ । मोबाईलको म्यासेज बक्समा गई अंग्रेजी अक्षरमा के आइ डी टाईप गरी एक स्पेश दिएर भोटिङ कोड एक लेखेर तीन तीन शुन्य शुन्य एकमा सेण्ड गरी तेजालाई भोट गर्नको लागि बिद्यालयले आव्हान गरेको छ । बिद्यालयले तेजलाई जस्तै हाल राष्ट्रिय स्तरमै ख्याति कमाउन सफल गायक पालुवास्टारलाई पनि निःशुल्क अध्धयन गर्ने अवसरि दिएका थिए । सानै उमेरदेखि गायनमा क्षमता राख्ने पालुवास्टारलाई माध्यमिक तहसम्म निःशुल्क अध्ययन गराएको थियो ।
२०४४ सालमा स्थापित बिद्यालयले अध्ययनसँगै बिद्यार्थीको अन्य प्रतिभाको बिकास गर्नमा पनि केन्द्रीत बन्ने गरेका छन् ।