खोटाङ चैत्र–१, खोटाङमा साङ्घातिक आक्रमणमा परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडा अध्यक्ष लिला चौहान सम्पर्क बिहिन भएका छन् । बुधबार राति करिब दश बजेको समयमा घर फर्कंदै गरेको अवस्थामा आफ्नै वडाका युवाहरुले बाटो छेकेर आक्रमण गरेपछि भाग्न सफल अध्यक्ष चौहान अहिलेसम्म सम्पर्कमा नआएका हुन् ।
स्थानीय जोशीचन्द्र राई नेतृत्वको पाँच-छ जना युवाहरुले अध्यक्ष चौहानमाथि आक्रमण गरेको प्रत्येक्षदर्शीले बताएका छन् । आक्रमण गर्नेमा जोशीचन्द्रसँगै विसम राई, बद्री खड्का लगायतका युवाहरु रहेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।
घटनापछि स्थानीयले दिएको जानकारीको आधारमा जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको प्रनाउ थापाले बताउनुभयो । वडाअध्यक्षले प्रयोग गरेको मोटरसाइकल र हेल्मेट घटनास्थलमा क्षतिग्रस्त अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
वडा कार्यालय आवतजावत गर्नेे बाटो स्काभेटरमार्फत मर्मत गराएर घर फर्कने क्रममा अध्यक्ष चौहानलाई सोही स्थानको दारुलाडाँडामा बाटो छेकेर आक्रमण प्रयास गरेको जनाइएको छ । दारुलाडाँडाबाट भागेर हिँडेका अध्यक्ष चौहानमाथि बानाचुङ बजारस्थित लालबहादुर खड्काको घरमा आक्रमण भएको प्रत्येक्षदर्शीले बताएका छन् ।
आक्रमणबाट भाग्न सफल अध्यक्ष चौहानले स्थानीयको मोवाइल नम्बरबाट राति सम्पर्क गरेपछि अहिलेसम्म सम्पर्क बिहिन रहेको नगर प्रमुख दिपनारायण रिजालले जानकारी दिनुभयो ।
अन्य विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।