खोटाङ  चैत्र–६,  खोटाङमा एसईई परीक्षाको तयारी पूरा भएको छ ।  चैत्र ८ गतेदेखि शुरु हुने परीक्षाका लागि केन्द्र निर्धारण, केन्द्राध्यक्ष तथा कर्मचारीको व्यवस्थापन, प्रश्नपत्र तथा उत्तरपुस्तिका लगायतको आवश्यक तयारी पूरा गरिएको हो । 
 २५ वटा परीक्षा केन्द्र कायम गरिएको जिल्लामा आवश्यक सम्पुर्ण सामाग्री केन्द्र–केन्द्रमा पठाइसकेको जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले बताउनुभयो । सबै परीक्षा केन्द्रहरुका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र सहयोगी कर्मचारी छनौट समेत गरिसकेको जिशिअ श्रेष्ठले जानकारी दिनुभयो । 
जिल्लामा यस वर्षको एसईइ परीक्षामा नियमिततर्फ १ हजार ९ सय ९७ छात्र तथा १ हजार ७ सय २७ छात्रा गरी ३ हजार ७ सय २४ र आंशिकतर्फ ३ सय ३४ छात्र तथा २ सय २० छात्रा गरी कुल ४ हजार २ सय ७८ परीक्षार्थी सहभागी बन्नेछन् । 
जसमध्ये निजी विद्यालयका १ सय ६, सामुदायिक विद्यालयका ४ हजार १ सय ७२ र खुल्ला विद्यालयका ११ जना परीक्षार्थी रहेका छन् । 
परीक्षाका लागि २५ केन्द्राध्यक्ष, २७ सहायक केन्द्राध्यक्ष, १ सय ८७ निरीक्षक र १ सय ३ जना सहयोगी कर्मचारी खटिने छन् । परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा ११ जनाका दरले २ सय ५० जना सुरक्षाकर्मी खटिने प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले बताउनुभयो ।