खोटाङ, चैत्र–२६, खोटाङमा सञ्चालन हुने दोश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीब्र बनाईएको छ । नेपाल सितोरियो कराते संघको आयोजनामा आगामी वैशाख २०, २१ र २२ गते सञ्चालन हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारीलाई तीब्र बनाईएको हो । 
करातेको भिष्म पीता भनेर सम्बोधन गरिने थानेश्वर राईको जन्मभूमि पहाडी जिल्ला खोटाङमा आयोजना हुन लागेको ‘दोश्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’ लाई जिल्लाबासीले महत्वको रुपमा हेरेका छन् । 
यसैबीच, उक्त करातेको तयारी स्वरुप सोमबार मस्कट सार्वजनिक गरिएको छ । खेल संस्कृतिको विकास गर्दै खोटाङलाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको मस्कट ‘खोटाङकै सादा नक्सा’ राखिएको छ । जिल्ला समन्वय समितिमा आयोजित सार्बजानिक कार्यक्रममा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको मस्कट सार्वजनिक गरिएको हो । 
जिल्ला सदरमुकाम दिक्तेलस्थित माटीकारे खेल मैदानमा सञ्चालन हुने खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागिताका लागि आयोजक टिम समेत छनौट गरिसकिएको छ ।
 आयोजक टिममा महिला कुमितेतर्फ ४० केजी समुहमा सलिना भुजेल, ४५ केजी समुहमा नन्जु राई, ५० केजी समुहमा रोस्मा राई, ५५ केजी समुहमा विद्याकला राई, ६१ केजी समुहमा जस्मिना राई र ८६ केजी समुहमा मिसडोना राई छानिएकी छन् ।
पुरुष कुमितेतर्फ ४० केजी समुहमा प्रशान्त राई, ४५ केजी समुहमा प्रज्वल लिम्बू, ५० केजी समूहमा विकल राई, ५५ केजी समुहमा मोतीचन्द्र राई, ६० केजी समुहमा सन्तोष राई, ६७ केजी समुहमा सुजन राई र ७५ केजी समूहमा ईश्वरधन राई छानिएका छन् । महिला एकल काँतातर्फ रोश्मा राई र पुरुष एकल काँतामा मोतीचन्द्र राई चयन भएका छन् । 
महिला समूह काँतामा रोश्मा राई, विद्याकला राई र सलिना भुजेल तथा पुरुष समुहकाँतामा सुमन राई, सुर्यचन्द्र राई र उत्साह राई छानिएको नेपाल सितोरियो कराते संघले जनाएको छ । 
प्रतियोगितामा सात वटै प्रदेश, सबै विभागीय टोली तथा छिमेकी राष्ट्र भारत, श्रृलंका, भुटान र बंगलादेश लगायतका खेलाडी सहभागी हुने आयोजक नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो । 
मस्कट सार्वजनिक कार्यक्रममा आयोजकले जिल्लाका पत्रकारलाई दोश्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता उल्लेख भएको ट्र्याकसुट समेत वितरण गरेको छ ।