साउन १४ – पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले नेपालका ७५ जिल्लाई जे गरेको त्यही नै आफ्नो जन्मभूमि खोटाङलाई पनि गरेको बताएका छन् । राजधानीमा शनिबार विद्यार्थी पत्रकार समूहद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा खोटाङलाई चाँही के गर्नुभयो त तपाईले भनेर सोधिएको प्रश्नमा यस्तो बताएका हुन् । सो अवसरमा उनले गृह, सञ्चार, स्वास्थ्य लगायत मन्त्रालयको सचिव हुँदा खोटाङको मात्रै सचिव नभई ७५ वटा जिल्लाकै सचिव भएकाले सबैलाई समान गरेको बताए । उनले सबैलाई समान व्यवहार गर्दा खोटाङलाई अन्याय भएको भए आफू सजाय भोग्न तयार रहेको पनि बताएका थिए । अन्तरक्रिया कार्यक्रममा उनले देशको संक्रमणकाल हटेर देश नै विकासमा गए खोटाङ पनि स्वतः विकासको बाटो हिड्ने विचार पनि व्यक्त गरेका थिए । एक अर्को प्रसंगमा उनले मंसिर ७ गते संविधानसभाको निर्वाचन हुनै नसक्ने पनि बताए । राजनीतिक, कानुनी र प्राविधिक रुपमा दलहरु तयार नरहेकाले ७ गते चुनाव हुनै नसक्ने उनको दाबी थियो ।