साउन २१ – सात महिनाअघि दक्षिण कोरियामा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका खोटाङ चिसापानी–४ का रमेश कोइरालाका परिवारले त्यहाँको बीमा कम्पनीबाट क्षतिपूर्ति पाएका छन् ।

दक्षिण कोरियाको ख्यङगिदो ह्वासाङमी नोजिन्रीस्थित खसङ प्लास्टिक कम्पनीमा काम गर्नेक्रममा ज्यान गुमाएका रमेशका परिवारलाई कोरियाली मजदुर बीमा संस्था श्रम कल्याणकारी कोषले नेरु ५५ लाख बराबरको क्षतिपूर्ति दिएको खोटाङ सेवा समाज कोरियाका सल्लाहकार उमेश बस्नेतले जानकारी दिए ।

कोषले हिमालयन बैंकमार्फत रमेशका बुबा भरतमान कोइराला र आमा मेनुका कोइरालाले आधा–आधा पाउने गरी क्षतिपूर्ति रकम पठाएको हो । दुई वर्षअघि देखि सो कम्पनीमा कार्यरत कोइरालाको सन् २०११ डिसेम्बर १८ बेलुका आफँैले चलाएको गाडीले किचेर ज्यान गएको थियो ।

प्रवासी मजदुर सङ्गठन एमटियूको सहयोगमा मृतक कोइराला परिवारलाई क्षतिपूर्तिका लागि प्रक्रिया अघि बढाइएको थियो । कोइरालालाई क्षतिपूर्ति दिलाउनका लागि पहल गरिदिन सोलस्थित नेपाली दूतावासमा हारगुहार गरे पनि दूतावासले ढिलासुस्ती गरेका कारण प्रवासी मजदुर सङ्गठन एमटियूको सहयोगमा कानुनी प्रक्रिया अघि बढाइएको बस्नेतले जानकारी दिए ।

सङ्गठनको सहयोगमा निजी वकिलमार्फत दुई महिनाअघि मजदुर कल्याण कोषमा मुद्दा दायर गरिएको थियो । मृतक कोइरालाको शव फिर्ता पठाउन वैदेशिक कल्याणकारी कोषले खर्च गरेको पाँच हजार अमेरिकी डलर हालसम्म पनि दूतावासले उपलब्ध नगराएको बस्नेतले बताए । रासस