खोटाङ, ३२ साउन । पूर्वको पशुपति भनेर चिनिने खोटाङको हलेसी महादेव मन्दिरको जग्गा तीव्ररूपमा अतिक्रमण हुन थालेपछि हलेसी विकास समितिले मन्दिरको जग्गाको क्षेत्रफल तोक्न आग्रह गरेको छ ।

मन्दिरको जग्गा अतिक्रमणले हलेसीको पर्यटन विकासमा असर पु¥याएको भन्दै समितिले जिल्ला मालपोत कार्यालयलाई महादेव मन्दिरको नाममा रहेको जग्गाको क्षेत्रफल तोक्न आग्रह गरेको हो ।
समितिले मन्दिरको नाममा रहेको जग्गा मिचेर बनिरहेका घरको निर्माण कार्य रोक्न पनि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

सल्ले–९ का सुन्दर राईले मन्दिरको नाममा रहेको कित्ता नं. ३७८ र ३६८ को जग्गामा घर निर्माण सुरु गरेको भन्दै रोक्का गर्न समितिले आग्रह गरेको हो ।

मन्दिरको जग्गामा घर नबनाउन पटकपटक ताकेता गर्दा पनि राजनीतिक दलको संरक्षणमा राईले घर निर्माण गरेको भन्दै समितिले सो कार्य रोक्न प्रशासनलाई यस्तो आग्रह गरेको जनाएको छ ।