खोटाङ, १ भदौ । खोटाङको डम्बर्खुशिवालय र काहुलेमा एकैसाथ दुईवटा लघुजलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।

डम्बर्खुशिवालय–९ को बुवाखोला र काहुलेको रुमरुमवा लघुजलविद्युत् आयोजनाको निर्माण कार्य एकैसाथ सम्पन्न भएको हो ।
अठार किलोवाट क्षमताको बुवाखोला लघुजलविद्युत् आयोजनाबाट डम्बर्खुशिवालयको ५ देखि ९ वडाका २४० घरमा बिजुली बलेको छ । यस्तै, ११ किलोवाटको रुमरुमवा लघुजलविद्युत् आयोजनाबाट काहुले–१, २, ३ र ४ का १८५ घरधुरीमा विद्युत् सेवा पुगेको छ ।

जिल्ला ऊर्जा तथा वातावरण शाखा खोटाङको आर्थिक तथा प्राविधिक सहयोग र हिमाली क्लब दिक्तेलको सामाजिक सहयोगमा ती दुई गाविसमा बिजुली बालिएको ऊर्जा विकास कार्यक्रमका सामाजिक परिचालक गुणराज कटवालले जानकारी दिनुभयो ।

ऊर्जा शाखाको रु २७ लाख ९० हजार, गाविसको रु ११ लाख, जिल्ला विकास समितिको रु तीन लाख ३१ हजार र समुदायको रु पाँच लाख ४८ हजार ५०० गरी रु ६६ लाख ४२ हजार ३९४ को लागतमा बुवाखोला लघुजलविद्युत् आयोजनाकोे काम पूरा भएको हो ।

यसैगरी ऊर्जा शाखाको रु १५ लाख ४० हजार, गाविसको रु पाँच लाख १२ हजार ४९०, जिल्ला विकास समितिको रु दुई लाख ५६ हजार २४४ र समुदायको रु दुई लाख ४० हजार गरी रु ५१ लाख २४ हजार ७८७ को लागतमा रुमरुमवा लघुजलविद्युत् आयोजनाको काम पूरा भएको ऊर्जा शाखाले जनाएको छ ।

गत साउन १४ गते बुवाखोला र साउन १० गते रुमरुमवा लघुजलविद्युत् आयोजनाको परीक्षण प्रशारण गरिएको थियो । रासस