दमन राई/खोटाङ, भदौ १४ – खोटाङका ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगलाई सामाजिक सुरक्षा भत्ता नदिईएको बिरोधमा नेकपा एमाले खोटाङले संघीय मामिला तथा स्थानीय बिकास मन्त्रीलाई नगद पाँच सय रुपैयाँका साथमा चिनी, चिया, टोपी र पछ्यौरा पठाएको छ । सरकारले जिल्लाका ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगले पाउने सामाजिक सुरक्षावापतको भत्ता नदिएको प्रतिकात्मक विरोध स्वरुप एमालेले संघीय मामिला तथा स्थानीय बिकास मन्त्रीलाई पाँच सयकासाथमा एक केजी चिनी, एक प्याकेट चिया, एक थान ढाका टोपी र एक थान पछ्यौरा पठाएको हो ।
एमालेले उनीहरुलाई अबिलम्व सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउन माग गर्दै बिहिबार खोटाङका स्थानीय बिकास अधिकारी युवराज अधिकारीमार्फत नगद तथा चिनी, चिया, ढाका टोपी र पछ्यौरा पठाएको हो ।
सामाजिक सुरक्षा भत्ता नपाउँदा जिल्लाका ७६ गाबिसमध्ये ३२ गाबिसका ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगले चिनी, चिया खान र एकसरो लत्ताकपडा लगाउनबाट बञ्चित हुनुपरेको भन्दै संघीय मामिला तथा स्थानीय बिकास मन्त्रीलाई नगदकासाथमा चिनी, चिया, टोपी र पछ्यौरा पठाएको नेकपा एमाले खोटाङका अध्यक्ष बिशाल भट्टराईले बताउनुभयो ।
आफ्नो शान्तिपूर्ण आग्रहलाई सरकारले बेवास्ता गरे थप श–सक्त आन्दोलन गर्ने अध्यक्ष भट्टराईले चेतावनी दिनु भयो । जिल्लाका ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगसहित जिल्ला बिकास समितिको कार्यालय पुगेका एमाले नेता तथा कार्याकर्ताहरुले सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउन माग गर्दै एक घण्टा धर्ना दिएका छन् । लट्ठी टेक्दै आएका बृद्धबृद्धा, एकल महिला तथा अपांगले भित्रबाहिर गर्न नमिल्नेगरी जिल्ला बिकास समितिको ढोका अगाडि धर्ना दिएका थिए ।
यसपल्ट जिल्लाका ४ हजार ७ सय ३४ ज्येष्ठ नागरिक, १ हजार ९ सय ७६ एकल महिला, ९९ जना अपांग तथा १ हजार ५ सय ३ जना दलित बाल बालिकाले पाउनु पर्ने २ करोड २३ लाख ७२ हजार २ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । Source: उज्यालो