भदौ २१ (रासस) – शय्याको अभाव भएपछि जिल्ला अस्पताल खोटाङमा भर्ना भएका बिरामीहरू होटलमा बसेर उपचार गराउन बाध्य बनेका छन् ।

शय्याको अभाव भएपछि अस्पतालमा भर्ना भएका १२ जना बिरामी सदरमुकाम दिक्तेलका होटल तथा घरमै बसेर उपचार गराउन बाध्य भएका हुन् ।

पन्ध्र शय्याको जिल्ला अस्पतालमा शय्या अपुग हुँदा भर्ना भएका बिरामी सुई र औषधि लिने समयमा अस्पताल आउने र त्यसपछि आराम गर्न अस्पताल बाहिर जाने गरेका छन् ।

शय्याको अभावमा अस्पतालबाहिर बसेका बिरामीहरूलाई दैनिक बिहान ७ बजे, दिउँसो २ बजे र बेलुका ७ बजे जाँच गराउन र सुई लिन अस्पताल आउनुपर्ने समय तालिका लागू गरिएको जिल्ला अस्पतालका प्रमुख डा. नवलकिशोर झाले बताउनुभयो ।

अस्पताल भर्ना भएका सदरमुकाम आसपासका बिरामी घरबाटै धाउने गरेका छन् भने घर टाढा भएका बिरामी होटलमा बसेर अस्पताल धाइरहेका छन् ।

कतिपय बिरामीहरूलाई अस्पतालको भुइँमा बिछ्यौनामा पल्टाएर उपचार गर्ने काम भइरहेको जिल्ला अस्पताल खोटाङले जनाएको छ ।