भदौ २३ रासस – विमानस्थलको मर्मत तथा सम्भारमा कसैको ध्यान नगएको भन्दै खोटाङका कर्मचारीले मनमायाँ राई खानीडाँडा विमानस्थलको मर्मत गरेका छन् ।

निजामती कर्मचारी दिवसको अवसर पारेर उनीहरूले वर्षाको भलबाढीले बनाएका खाल्डाखुल्डी मर्मत तथा सम्भार गरेका हुन् ।

विमानस्थलमा बनेका खाल्डाखुल्डीका कारण लामो समयसम्म अवरुद्ध विमानस्थल तत्काल सञ्चालनमा ल्याउन आफूहरू विमानस्थलको मर्मत तथा सम्भारमा जुटेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो ।

नेपाल एयरलाइन्स तथा अरु कम्पनीहरूले विमानस्थलमा खाल्डा बनेको बहानामा उडान गर्न आनाकानी गर्न थालेपछि जिल्लाका कर्मचारीहरूलाई विमानस्थल मर्मत तथा सम्भार गर्न अग्रसर गराएको प्रजिअ नेपालले बताउनुभयो ।

सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक रहेको विमानस्थलमा उडान अवरुद्ध हुँदा जिल्लाका बिरामीहरू बढी मारमा परेकाले पनि आफूहरू यसको मर्मतमा जुटेको प्रजिअ नेपालको भनाइ छ ।

विमानस्थल सरसफाईमा जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय, सङ्घसंस्था, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

जिल्लाका तीनवटा विमानस्थलमध्ये सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थलमा नेपाल, अग्नि र तारा एयरलाइन्सले उडान भर्दै आएका छन् ।