एमाले उपाध्यक्ष अशोक राईको नेतृत्वमा गठन भएको अग्रगामी मोर्चालाई अनेरास्ववियु खोटाङले जिल्ला प्रवेश निषेध गरेको छ । जातिय पहिचानसहितको संघियता बिरोधिहरुले जिल्ला प्रवेश निषेध गरेको अस्सोक पक्षधरले जनाएको छ, भने अखिलको हलेसीमा सकिएको छैटौं पूर्ण बैठकले वर्गीय पार्टीका नेताले जातिय कुरा उठाएर सामाजिक सद्भाव बिथोल्नेतिर लागेकाले प्रवेश निषेध गर्ने निर्णय गरेको अखिलका उपाध्यक्ष मिलन राईले बताए ।
बैठकमा एकल जातीय संघियताका पक्षमा कोही नरहेको निष्कर्ष निकालेपछि अशोक राईले नेतृत्व गरेको मोर्चालाई नै निषेध गरिएको हो । अखिलका उपाध्यक्ष राईका अनुसार जनजाति बहुल कमिटीमा एकल जातीय पक्षमा एकजना पनि छैनन् । देशलाई अग्रगामी निकास दिन बहुलजातीय पहिचान नै उपयुक्त भएको निष्कर्ष पनि अखिलले गरेको छ ।

यसअघि एमाले खोटाङले पनि एकल जातीय पहिचानलाई अस्वीकार गरिसकेको छ । एमालेको आठौं जिल्ला कमिटीको बैठकले अशोक राईका मागलाई सम्बोधन गर्न केन्द्रीय कमिटीलाई अनुरोध गरेको थियो। एमालेका जनजाति नेताहरुले अशोक राईले बनाउने जातीय पार्टीमा नजाने जनाइसकेका छन्। एमालेका जिल्ला सचिव राजन राईले सामाजिक सद्भाव बिथोलिने किसिमले अशोक राईले पहिचानका मुद्दालाई उठाएको बताए। उनले एमाले सबै जातिको पहिचान सुनिश्चित गराउने पार्टी भएकाले कुनै पार्टीको अधिनायकत्व स्थापित हुने परिपाटी नस्वीकार्ने बताए ।

अशोक राई नेतृत्व मोर्चा पूर्व नेपालका कुनै जिल्लामा गठन नभएको एमाले जिल्ला अध्यक्ष बिशाल भट्टराईले जनाए । ओखलढुङ्गाका एमाले अध्यक्ष यज्ञराज सुनुवारले पनि एमालेका जनजाति जिल्ला अध्यक्ष एकल जातीय संघियताका पक्षमा नरहेको जनाए । – सोलु अनलाइन