खोटाङ, २९ भदौ । भाइरल ज्वरोका कारण पाँच विद्यालय बन्द भएका छन् ।

दैनिकजसो विद्यार्थी बिरामी हुनेक्रम बढेपछि अन्य विद्यार्थीमा सर्न नदिन केही दिनका लागि विद्यालय बन्द गरिएको छ । विद्यार्थीमा ज्वरो आउने, रिँगटा लाग्ने, एक्कासि ढल्ने, बेहोस हुनेजस्ता लक्षण देखापरेपछि विद्यालय बन्द गरिएको हो ।

विद्यालयमा अध्ययनरतमध्ये आधाभन्दा बढी बिरामी भएपछि यही भदौ २६ गतेदेखि जलेश्वीको सिम्ले मावि, २७ गतेदेखि बडहरेको शान्ति निमावि र खोटाङ बजारको सिद्ध निमावि, २८ गतेदेखि याम्खाको महेन्द्रोद्वय निमावि र आजदेखि हलेसीको महेन्द्रोद्वय उमावि बन्द भएको छ ।

जिल्लाका स्रोत व्यक्तिबाट प्राप्त जानकारीअनुसार जिल्लामा सञ्चालित विद्यालयमध्ये ८० प्रतिशतभन्दा बढी विद्यालयमा भाइरल ज्वरोको प्रकोप रहेको जिल्ला शिक्षा कार्यालय खोटाङका विद्यालय निरीक्षक मीनबहादुर थापाले बताउनुभयो ।

यसैबीच ज्वरोका कारण जिल्लाका अन्य व्यक्तिसमेत प्रभावित भएका छन् । ज्वरोका बिरामीको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा मात्रै दैनिक ३०० को हाराहारीमा बिरामी आउने गरेको अस्पतालका प्रमुख चिकित्सक नवकिशोर झाले बताउनुभयो । दैनिकजसो बिरामीको सङ्ख्या बढ्दै गएपछि रोग पहिचानका लागि केन्द्रबाट समेत स्वास्थ्यकर्मी झिकाइएको बताउँदै उहाँले भन्नुभयो, “थप जटिलता बेहोर्नु नपरोस् भन्नाका लागि मन्त्रालयबाट स्वास्थ्यकर्मी मगाएका हौँ ।”

उहाँका अनुसार १५ शय्या रहेको जिल्ला अस्पताल खोटाङमा शय्याको समेत अभाव भएको छ । शय्या अभावमा अस्पतालले बिरामीलाई भुइँमा राखेर उपचार गरिरहेको छ । बिरामीको चाप अत्यधिक बढेपछि सदरमुकाम नजिकका बिरामी घर नै फर्कने गरेका छन् भने केही बिरामी नजिकैको होटल तथा आफन्तकहाँ बसेर उपचार गराइरहेका छन् । रासस