असोज ५ – साउदी अरबमा ज्यान गुमाएका खोटाङ खार्मीको एक व्यक्तिको शव पाँच महिनापछि नेपाल ल्याइएको छ । गत वैशाख २७ गते आफैँ काम गर्ने कम्पनीको गाडीले किचेर मृत्यु भएका खार्मी–९ का रामनाथ राईको शव पाँच महिनापछि काठमाडाँै ल्याइएको हो ।

प्रक्रिया नै लामो हुने भएकाले वैदेशिक रोजगारीको सिलसिलामा ९ वर्षअघि साउदी अरब पुगेका राईको शव नेपाल पठाउन ढिला भएको खोटाङ प्रवासी सेवा समाजले जनाएको छ ।
कमजोर आर्थिक स्थिति र सोचेजस्तो कमाइ नभएका कारण साउदी अरब जाँदा लागेको ऋण नै तिर्न नसकेको उनको परिवारले जनाएको छ । हाल अरबबाट राईको शव ल्याइए पनि परिवारले क्षतिपूर्ति पाउन भने समस्या भएको छ ।

वैदेशिक रोजगारीमा जानुपूर्व बीमा नगराएको र श्रम स्वीकृतिसमेत नवीकरण नगराएका कारण नेपालका सम्बन्धित निकायबाट प्राप्त हुने रकम उपलब्ध हुन नसकेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

उता, साउदीबाट सम्झौता गरी काम गरेको कम्पनी अल हेडले साढे छ हजार रियाल अर्थात् नेपाली करिब एक लाख छपन्न हजार उपलब्ध गराएको छ ।

शव नेपाल पठाउने बन्दोबस्तीका साथै केही रकम कम्पनीमार्फत सप्लाईमा गई काम गरिरहेको कम्पनीले प्रदान गर्ने भएको मृतकसँगै काम गर्ने अम्बरबहादुर राईले जानकारी दिएका छन् ।

करिब पाँच वर्ष अगाडि मृतकलाई अलहेड कम्पनीले डेल्टा कम्पनी सप्लाईमा पठाएको थियो । सडकमा लाइनमेनको काम गरिरहेको समयमा गाडीले किचेर घटनास्थलमै मृत्यु भएको राईको काठमाडाँैमा नै अन्त्येष्टि गरिएको छ । रासस