तरकारी बीउ आयोजना (सिप्रेड)ले तरकारीको बीउको मूल्य निर्धारण गरेको छ ।

सदरमुकाम दिक्तेलमा एकदिने बजार व्यवस्थापन कार्यशाला गोष्ठीको आयोजना गरी सिप्रेडले जिल्लामा उत्पादन हुने विभिन्न प्रजातिका तरकारीको बीउको मूल्य निर्धारण गरेको हो ।

जिल्लामा काठमाडौँ स्थानीय जातको काउलीको बीउ प्रतिकिलो रु एक हजार २५०, ब्रो–काउलीको बीउ प्रतिकिलो रु एक हजार ३००, भक्तपुर स्थानीय जातको काँक्रो रु एक हजार ५००, एग्रिफाउन्ड डार्क रेड जातको प्याज रु एक हजार ३००, मिनोअर्ली जातको मूला रु ४००, न्यु कोरोदा जातको गाजर रु ६००, मार्फाचौडा जातको रायो रु ७००, मार्फा सेकेसन जातको धनियाँ रु ३००, चम्सुर रु २००, त्रिशूली जातको सिमी रु २६०, चौमासे सिमी रु २५०, पहेँलो सिमी रु २०० र सिक्किम स्थानीय जातको केराउ रु २५० मूल्य तोकिएको सिप्रेडका बीउ सुपरभाइजर मोतीमान लिम्बूले बताउनुभयो ।

जिल्लामा उत्पादित तरकारीको बीउ तथा बिजनको मूल्य आफूखुसी राख्ने र बेचबिखन गर्ने गरिएकाले बजारमा समस्या हुने गरेकाले मूल्य निर्धारण गरिएको लिम्बूको भनाइ छ ।

जिल्लाका कृषकले उत्पादन गर्ने तरकारीको बीउ तथा बिजन गुणस्तरीय भएकाले जिल्लादेखि बाहिरसमेत निर्यात गर्न सकिने र यसमा मूल्य निर्धारणले एकरुपता आउने पनि लिम्बूले बताउनुभयो । जिल्लामा उत्पादित बीउ तथा बिजन यस वर्ष पहिलो पटक जिल्ला बाहिरसमेत पठाइएको छ । रासस