पुस १० – हिउँदमा हुस्सु लाग्दा होस् या वर्षातमा बादल, प्रायः सधैँ ब्याट्री डाउन भएर अवरुद्ध हुने सोलुखुम्बुको टेलिफोन सेवामा अब भने त्यो समस्या हटेको छ ।

खोटाङका उत्तरी क्षेत्रका बासिन्दाले निकालेको लघुजलविद्युत् आयोजनाले नेपाल टेलिकम सोलुखुम्बुलाई विद्युत् दिएपछि यो समस्या समाधान भएको नेपाल टेलिकम सल्लेरीका प्रमुख सुचित्रा जोसीले जानकारी दिनुभयो ।

“सिन्दुरेढुङ्गा लघुजलविद्युत् आयोजनाले टावरका लागि आवश्यक विद्युत् दिएपछि हामीले टावरसम्म लाइन बिस्तार गरिसक्यौँ अब ब्याट्रीका कारण ग्राहक मारमा पर्नु पर्दैन” जोशीले भन्नुभयो । जुवुस्थित रिपिटर टावरमा समस्या आउँदा नेपाल टेलिकमअन्तर्गत सोलुखुम्बुसहित खोटाङको उत्तरी क्षेत्रका सेवासमेत अवरुद्ध हुने गरेका थिए ।

टेलिकमले विद्युत् लाइन जडान गरी सेवा नियमित बनाएकोमा सोलुखुम्बुवासीले खुसी व्यक्त गरेको राससमा उल्लेख छ ।