पुस १५ – आफ्ना सदस्यमाथि आक्रमण भएको विरोधमा खोटाङ उद्योग वाणिज्य सङ्घले सदरमुकाम दिक्तेल बजार बन्द गराएको छ ।

सदरमुकाम दिक्तेल–२ स्थित त्रिवेणीचोकमा होटल व्यवसाय सञ्चालन गर्दै आएका सङ्घका साधारण सदस्य योगराज लुइँटेलमाथि मरणासन्न हुनेगरी आक्रमण भएको विरोधमा सङ्घले बजार बन्द गराएको हो ।
उद्योगी÷व्यवसायीमाथि आक्रमण हुनुले आफ्नो संस्थाको गम्भीर ध्यानाकर्षण भएको भन्दै उद्योग वाणिज्य सङ्घले आज एक दिनका लागि बजार बन्द गर्ने निर्णय गरेको सङ्घका कार्यवाहक अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो ।

बिहान ११ बजेबाट आह्वान गरिएको बन्दबाट सदरमुकामको जनजीवन अस्तव्यस्त भएको छ ।

आफ्नो होटलमा खाना तथा खाजा खाएको बाँकी रकम घरैमा लिन बोलाएर विजयखर्क गाविस–८ का बृखबहादुर खनाल तथा उनका छोराहरु गणेश र राजनले योजनाबद्ध तरिकाले कुटपिट गर्दा लुइँटेल र उनका भान्जा गम्भीर घाइते भएका छन् ।

आक्रमणबाट अन्दाजी २९ वर्षीय होटल व्यवसायी योगराज र उनका १८ वर्षीय भान्जा राजिव फुयाँल गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये योगराजको अवस्था चिन्ताजनक रहेको र सदरमुकाम दिक्तेलमा उपचार हुन नसेकेपछि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ ।

शनिबार साँझ करिब साँढे चार बजेतिर विजयखर्कस्थित खनाल परिवारको घर पुगेका योगराज र राजिवमाथि अन्धाधुन्ध तीन बाबुछोराले आक्रण गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
आक्रमणमा संलग्न बाबु बृखबहादुर तत्कालै पक्राउ परेका थिए भने छोरा गणेश आइतबार बिहान पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजिब बस्नेतले जानकारी दिनुभयो । आक्रमणमा संलग्न राजनको खोजी भइरहेको बताइएको छ ।