खोटाङ बैशाख–८,  ‘‘खोपि राखौंला नि लै लै..’ बोलको गीतबाट चर्चामा आएकी गायिका राधा राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार २०७४’ बाट पुरस्कृत गरिएको छ । २०६३ सालमा रेकर्ड गरिएको उक्त गीतबाट सांगीतिक बजारमा चर्चा कमाउन सफल गायिका राईलाई टेम्के तुवाचुङ प्रतिष्ठान नेपालले ११ हजार एक सय ११ रुपैंयाँ राशीको नगद तथा ताम्रापत्रले पुरस्कृत गरेको हो ।  
गायिका राईलाई प्रसिद्घ स्थल हलेसीमा शनिबार आयोजित प्रतिष्ठानको तेस्रो वार्षिक उत्सवको अवसरमा प्रमुख हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख विमला राईले नगद तथा ताम्रपत्र प्रदान गर्नुभएको हो । लामो समयदेखि संगीतको औपचारिक शिक्षा लिँदै ब्यवसायिक रुपमा स्थापित गायिका राई साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका हुनुहुन्छ । राईले यस अघि नै सोही गीतबाट बीबीसी नेपाली सेवा पुरस्कार तथा ईमेज अवार्ड प्राप्त गरिसक्नुभएको छ ।
विभिन्न बिधा तथा क्षेत्रबाट जिल्लाको गौरब बढाउने जिल्लाकै एक व्यक्तित्वलाई अझ सक्रिय बन्न हौसला प्रदान गर्ने उद्देश्यले पुरस्कार प्रदान गर्ने गरिएको प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले बताउनुभयो । तीन वर्षअघि स्थापना भएको प्रतिष्ठनाले यसअघि साहित्यकार चन्द्र रानोहँछा र कराते खेलाडी सञ्जय राईलाई पुरस्कृत गरिसकेको छ । 
त्रीधार्मिकस्थल हलेसीस्थित होटल हलेसी भिलेजमा आयोजित वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रममा बाँसुरी वादक नगेन्द्र राईको बिशेष प्रस्तुति, अलग अभियान तथा साईनो कला केन्द्रका कलाकारको सांगीतिक प्रस्तुति समेत रहेको थियो । 
पुरस्कृत गायिका राधा राई, गायक रेवत राई, गायिका बविना किराती,  साहित्यकार एमसी सुमित, कवि वेदीकुमार राई, युवा कवि विकास रोकामगर लगायतको प्रस्तुती रहेको थियो । 
यसअघि सदरमुकाम दिक्तेलमा मात्र सांगीतिक तथा साहित्यीक कार्यक्रम गर्दै आएको प्रतिष्ठानले यस वर्ष धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा तेस्रो वार्षिक उत्सव, पुरस्कार वितरण तथा साहित्यीक तथा सांगीतिक प्रस्तुति कार्यक्रम गरेको हो । 
यो कार्यक्रम जिल्ला तथा जिल्लाबाहिर रहने श्रष्टा सर्जकहरुको लागि महत्वपूर्ण अवसरको रुपमा आयोजना भएको सहभागीहरुको भनाई थियो । 
कार्यक्रममा एक सय जना हाराहारी श्रष्टा सर्जकको सहभागिता रहेको थियो ।