माघ – ४,  खोटाङको महुरे–फोक्सिङ्टार सडक खण्डमा काम गर्ने कामदारहरुले आफुहरुसंग डन समूहले १५ प्रतिशत कमिशन मागेको गुनासो गरेका छन् । डनहरुले सडकमा काम गरेवापत आउने रकमको १५ प्रतिशत कमिसन मागेको गुनासो गरेका हुन् ।
कामदारहरुको पारिश्रमिकका लागि जिल्ला बिकास समितिबाट मंगलबार १ करोड २९ लाख रुपैयाँ निकासा भएको थाहा पाएपछि जिल्लाका डनहरु कमिसन माग्न निर्माणाधीन सडकखण्ड अन्तरगत बतासे गाविसको भँडारेघाटमा पुगेको एक कामदारले बताएका हुन् । डनहरु कामदारसंग रकम असुल्न गएको जानकारी आएपछि प्रहरी टोली परिचालन गरिएको खोटाङका जिल्ला प्रहरी प्रमुख राजीव बस्नेतले बताउनुभयो ।
जिल्ला विकास समितिले कामदारको रकम निकासा गरेपछि डनहरुले पिछा गरिरहेकाले आफूहरु असुरक्षित बनेको सडक निर्माण उपभोक्ता समितिका एक सदस्यले बताएका छन् । उनका अनुसार डन समूहले ४९ किलोमिटर लामो माहुरे–फोक्सिङटार सडकमा काम गरेवापत कामदारले पाएका तीन करोड ८५ लाख ७५ हजार रुपैयाँको १५ प्रतिशत रकम मागेका छन् ।