माघ – ४,  ५ महिनाअघि कतारमा हत्या गरिएका खोटाङ छितापोखरी ५ का ४३ वर्षीय तीर्थ खड्काको परिवार बिचल्लीमा परेका छन् । इकान्तिपूरका अनुसार भदौ १ मा कतारको दोहामा हत्या गरिएका खड्काको परिवार अहिले आर्थिक संकटमा छन् । आर्थिक अभावकै कारण उनका छोराछोरीलाई विद्यालय पठाउनसमेत समस्या भएको भाइ राजन खड्काले बताउनु भएको छ ।

श्रीमान्को ज्यान गएपछि ३९ वर्षीया श्रीमती सुमित्रा बिमारले थला परेकी छन् । श्रीमान्को हत्यापछि निराश बनेकी सुमित्रा मुटुरोगी छन्। गाउँलेले उपचारका लागि सहयोग संकलन गरे पनि अपुग भएको तीर्थका बाबु जमानसिंह बताउनु हुन्छ । ‘बिहान-बेलुकी खान पुग्दैन, बुहारी पनि बिरामी परिन्,’९० वर्षीय जमानसिंहले भन्नुभयो, ‘नानीहरू भोकभोकै बस्न बाध्य छन् ।’ तीर्थका पाँच छोरी र दुई छोरा छन् । ठूली छोरी पार्वती (१६ वर्ष) कक्षा ८, माइली छोरी विमला (१४ वर्ष) कक्षा ७ मा स्थानीय जनसेवा माविमा पढ्दै थिए । त्यस्तै जेठा छोरा धिराज (१२ वर्ष) कक्षा चारमा, साइँली छोरी प्रमिला (१० वर्ष) कक्षा ४, काइँली छोरी विपना (७ वर्ष) कक्षा २, कान्छा छोरा दिपेन र कान्छी छोरी पवित्रा (४ वर्ष) कक्षा १ मा अध्ययनरत छन् ।