माघ–७, खोटाङको सदरमुकाम दिक्तेलमा आयोजना गरिएको बृहत सांगीतिक एबं हाँस्य ब्याङ्ग्य कार्यक्रमा गीतकार बिरेन्द्र राईलाई नगद ५० हजारका साथमा सम्मानपत्र प्रदान गरिएको छ । गीतसंगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै खोटाङ युवा क्लवले नगद ५० हजार सहित सम्मानपत्र प्रदान गरेको हो ।

हिजो खोटाङ युवा क्लवको आयोजना तथा तातिम ईन्टरटेण्टमेन्ट प्रालीको संयोजनमा आयोजना गरिएको साँगीतिक एबं हाँस्य ब्याङ्ग्य कार्यक्रममा चर्चित गायक शिव परियार, ज्योती राणा, आषिश ताम्राकार, गायक तथा संगीतकार विनोद खम्बु, हाँस्य जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को प्रस्तुती रहेको थियो । 
जिल्लाबासीलाई आफ्नै गाउँठाउँमा सांगीतिक मनोरञ्जन दिलाउँदै बृद्धाश्रमको सहयोगार्थ रकम जुटाउने उद्धेश्यले बृहत सांगीतिक एबं हाँस्य ब्याङ्ग्य कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक भुवन राईले जानकारी दिनुभयो । सदरमुकाम दिक्तेलको माटिकोरे खेल मैदानमा भएको कार्यक्रममा छमछमी सिजन वानका टप फाइभ नृत्याङ्गना पार्वती राई यस्तै, खोजी प्रतिभा प्रतियोगीताका टप थ्रीमा पर्न सफल सुमन सरगम, खोजी प्रतिभाका टप फाईभ महेश राई, खोटाङ ताराका विजेता रेवत राई, खोटाङ सुगम स्टारका बिजेता सचिन राई तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती रहेको थियो । 
जिल्ला न्यायाधिस प्रकाशकुमार काफ्लेको प्रमुख आतिथ्य तथा क्लवका अध्यक्ष भीम राईको सभापतित्वमा भएको कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सर्वसाधारणगरी हजारौं दर्शक तथा श्रोताहरुको सहभागिता रहेको थियो ।