माघ–९, नेपाल सरकार तथा शिक्षा मन्त्रालयको निर्देशन बिपरीत खोटाङमा गेस पेपर तथा गाईड बिक्री बितरण भइरहेको भेटिएको छ ।
जिल्लाका पुस्तक पशलहरुबाट अझै पनि बिद्यालय तहका गाइड तथा गेसपेपर बिक्रीबितरण भइरहेको जानकारी आएपछि सोमबार गरिएको अनुगमनकाक्रममा गेसपेपर तथा गाईड बिक्रीबितरण भइरहेको भेटिएको जिल्ला शिक्षा कार्यालय खोटाङले जनाएको छ । 
शाखा अधिकृत अशोक पराजुलीको नेतृत्वमा छ वटा पुस्तक पशलमा गरिएको अनुगमनकाक्रममा पाठ्यक्रम बिकास केन्द्रले स्वीकृति प्रदान गरेबाहेकका पुस्तकहरु बिक्री बितरण भइरहेको भेटिएको जिल्ला शिक्षा अधिकारी निर्मल घिमिरेले बताउनुभयो । 
हालसम्म पनि गेस पेपर बिक्री गरिरहेका बिक्रेताहरुलाई गेस पेपर तथा गाइड बिक्री बितरण नगर्न अन्तीम चेतावनी दिइएको शाखा अधिकृत पराजुलीले जानकारी दिनुभयो । 
पुस्तक बिक्रेताहरुले पनि आउँदा दिनमा गाईड तथा गेसपेपर जिल्लामा नल्याउने र बिक्री बितरण नगर्ने प्रतिबद्धता जनाएको अनुगमन टोलीको भनाई छ । अनुगमन टोलीले सदरमुकाम दिक्तेलस्थित श्रेष्ठ एण्ड वुक्स स्टेशनरी, सैँजु पुस्तक पसल, न्यू शाक्य एण्ड पुस्तक स्टेशनरी, पुर्वाञ्चल बुक्स एण्ड स्टेशनरी र कबिता स्टेशनरीमा अनुगमन गरेको थियो ।