माघ–१०, बैदेसिक रोजगारीका सिलसिलामा कतारमा ज्यान गुमाएका खोटाङ बुईपा–२ का धिरज राईको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

कतारको दुखानस्थित सिसिआईसी कम्पनीमा स्काफोल्डिङको काम गर्नेक्रममा ज्यान गुमाएका राईको परिवारलाई एक लाख ९९ हजार चार सय १७ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको हो । 

दुखानस्थित सीसीआईसी कम्पनीको जिएसफ प्रोजेक्टमा कार्यरत नेपाली कामदारहरुबाट संकलन गरिएको रकम मंगलबार मृतक राईको श्रीमती पूर्णकुमारी राईको नाममा पठाइएको खोटाङ सेवा समाज दोहा कतारका महासचिव नारायण बस्नेतले जानकारी दिनु भयो ।
राईको निधन भएपछि बिचल्नीमा परेका श्रीमती, एक छोरा र एक छोरीको सहयोगकालागि स्काफोल्डिङ डिपार्टका सुपरभाइजर शोभित खतिवडा, बिकास लिम्बू लगायत स्काफोल्डिङ डिपार्टको पहलमा चन्दा संकलन गरेर सहयोग रकम पठाइएको स्काफोल्डिङ डिपार्टका सुपरभाइजर शोभित खतिवडाको भनाई छ । 
दुई महिनाको छुट्टी मनाएर नेपालबाट पुःन कतार पुगेका राईको गत मंसिर–२० गते राती सुतेकै अवस्थामा ज्यान गएको थियो । ६२ दिनको छुट्टी सकेर कतार पुगेको तीन घण्टा नबित्दै उनको दुखानस्थित आफ्नै कोठामा ज्यान गएको साथीहरुले जानकारी दिएका थिए । कतारको सीसीआईसी कम्पनीमा ६ वर्ष अघिदेखि स्काफोल्डरको काम गर्दै आएका राईको परिवार हाल सुनसरीको इटहरीमा बस्दै आएका छन् ।