माघ–१२, खोटाङको सदरमुकाम दिक्तेलमा बैदेशिक रोजगारीको शिलशिलामा विदेश जान चाहँने व्यक्तिहरुलाई विदेश जानुअघि र विदेशमा रहँदा अपनाउनुपर्ने विधि, कानूनी कारबाहीलगायतका बारेमा जानकारी दिने उद्धेश्यले सञ्चालन गरीएका बैदेशिक रोजगार सम्बन्धी दुई दिने प्रशिक्षक प्रशिक्षण तालिम सकिएको छ ।
सुरक्षित आप्रवास परियोजना हेल्भेटास ईन्टरकोअप्रेशनको आयोजनामा भएको दुई दिने तालिममा जिल्लाका बीस वटा माध्यमिक विद्यालयका सामाजिक विषयका शिक्षकहरुको सहभागिता रहेको तालिममा रत्नकाजी बज्राचार्यले सहजीकरण गर्नुभएको थियो ।
सदरमुकाम दिक्तेलस्थित भवनगैरामा भएको तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्ने बक्ताहरुले तालिममा सिकेका कुराहरुलाई स्थानीयस्तरमा गएर व्यवहारमा उतार्न तालिममा सहभागीहरुलाई आग्रह गरेका छन् । समापन कार्यक्रममा जिल्ला शिक्षा अधिकारी निर्मल घिमिरे, गैंरसरकारी संस्था महासंघ खोटाङका अध्यक्ष दीपनारायण रिजाल र जनसेवा समाज नेपालका अध्यक्ष इमान राईले सम्बोधन गर्नुभएको थियो ।
जिल्ला विकास समिति खोटाङका योजना तथा प्रशासकीय अधिकृत हरिप्रसाद गुराँगाइँको अध्यक्षतामा भएको समापन कार्यक्रममा जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरे प्रमुख अतिथि रहनुभएको थियो ।