माघ–१९, खोटाङको जालपा गाविसका समुदाय आफैले खुल्ला दिशामुक्त गाविस घोषणा गरेका छन् । 
जिल्लाको उत्तरी गाविस जालपाका समुदायले आफ्नै पहलमा खुल्ला दिशामुक्त गाविस घोषणा गरेका हुन् । सरकारको सहयोग बिनै त्यहाका सबै वडाका समुदायले व्यवस्थित चर्पि बनाएपछि जालपा गाविस खुल्ला दिशा मुक्त गाविस घोषित भएको हो । 
त्यहाका वडा नं १ का ६०, २ का ९६, ३ मा ६७, ४ का ७२, ५ मा ५२, ७ मा २६ ८ का ५९ र ९ का ७८ परिवारले चर्पी बनाएका छन् । यसमध्ये १९ प्रतिशतले पक्की सौचालय बनाएका छन् भने अन्यले व्यवस्थित सौचालय बनाएको जालपा गाविसका गाविस सचिव सीताराम खतिवडाले बताउनुभयो ।
गाविस र स्थानीय गैरसरकारी संस्था जनसेवा समाज नेपालको अगुवाइमा सबै वडामा सौचालय बनाइएको सचिव खतिवडाले जानकारी दिनुभयो । चर्पी निर्माणका लागि गाविसले दलित समुदायको अति विपन्न दश घरपरिवारलाई आर्थिक वर्ष २०६८÷६९ मा ९० हजार रुपैया उपलब्ध गराएको थियो । अन्य घरपरिवारमा भने समुदाय आफैले सौचालय बनाएका हुन् । 
जनसेवा समाजको सरसफाइ कार्यक्रम अन्तरगत समुदायलाई स्वास्थ्य चेतना बाडेपछि समुदाय आफैले सौचालय बनाएको स्थानीय वडा नागरिक मञ्चकी संयोजक रञ्जना राईले बताउनुभयो ।
खुल्ला दिसामुक्त गाविस घोषणा कार्यक्रममा बोल्दै पूर्व सांसद टंक राईले सरसफाइ कार्यक्रम सञ्चालन गरेको तीन वर्षपछि खुल्ला दिशामुक्त गाविस घोषणा भएको प्रति खुशी व्यक्त गर्नुभयो । ‘२०३९ सालबाट एउटा गाउँबाट सरसफाइ अभियान सुरु गरेका थियौ ।’ राईले भन्नुभयो–‘३० वर्षपछि बल्ल आफ्नै प्रयासमा खुल्ला दिशामुक्त गाविस घोषणा गर्न सकिएको छ ।’ उहाँले भन्नुभयो–‘विकासका लागि हात पसार्ने होइन आफै विकासमा जुट्नु पर्दछ ।’ 
कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जालपाका समुदायको स्वास्थ्यप्रतिको चेतना लगायतका अन्य विकासप्रति एकता र सकारात्मक धारणाप्रति खुशी व्यक्त गर्नुभयो । 
स्थानीय विकास अधिकारी युवराज अधिकारीले सौचालय निर्माण गरिए पनि यसको निरन्तरता र दीगोपनाको बारेमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो । जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले जालपा गाविस विकास अभियान्ताको गाविस भएको जनाउदै यसबाट अन्य गाविसले पनि पाठ सिक्नु पर्ने बताउनुभयो । जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयका प्रमुख देबेन्द्रकुमार झाले सन २०१६ भित्रमा जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने अभियानमा आफूहरु रहेकाले यसमा टेवा पुगेको बताउनुभयो । 
अस्पतालका डाक्टर नबलकिशोर झाले जालपाका समुदाय स्वास्थ्य प्रति सचेत रहेको भन्दै यसप्रति आफूहरु खुशी रहेको बताउनुभयो । कार्यक्रममा आउने पाहुनालाई स्थानीय तामाङ, गुरुङ, नेवार, हिन्दू र किरात समुदायका युवतीहरुले फूलमाला र खादाले स्वागत गरेका थिए ।