माघ–२५, खम्बुवान राष्ट्रिय मोर्चा नेपालका केन्द्रीय सचिव भुपी कोयीले आफूहरु तत्काल संविधानसभाको चुनाव गर्नुपर्ने पक्षमा रहेको बताउनुभएको छ । 
पार्टीको प्रचारप्रशार विभाग प्रमुख समेत रहेका सचिव कोयीले अहिलेको अवस्थामा विघटित संविधानसभाको पुर्नस्थापना हुनै नसक्ने दावी गर्दै पिछडिएको वर्गको समेत प्रतिनिधित्व हुनेगरी नयाँ चुनावमा जानुको विकल्प नहुने तर्क गर्नुभयो । 
कार्यकर्ता भेटघाटका क्रममा सदरमुकाम दिक्तेल आएका सचिव कोयीले एकीकृत नेकपा माओवादीले भनेजस्तो स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन हुन नसक्ने भन्दै त्यस्ता व्यक्तिको नेतृत्वमा सरकार गठन भए उसले राष्ट्र हाँक्न नसक्ने पनि दावी गर्नुभयो । 
पछिल्लो समयमा केही राजनीतिक दलहरु साना पार्टीको बहुमत आउने डरले विघटित संविधानसभाको पुर्नस्थापना गर्नुपर्ने बताइरहेपनि त्यो हुनै नसक्ने र आफ्नो पार्टीले स्वीकार नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने हो भने, नेपालका राजनीतिक दलहरुको कुनै अर्थ छैन ।’ 
कार्यकर्ता भेटघाटका क्रममा सचिव कोयी दिक्तेल आएपछि जिल्ला कार्य समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोयीले आफ्नो पार्टी अब नयाँ विचारका साथ पिछडिएका जनताका घरघरमा पुग्ने बताउनुभयो । 
आफूहरु जातीय अग्राधिकार सहितको जातीय पहिचानको पक्षमा रहेकाले अब हुने निर्वाचन समानुपातिक प्रणाली अन्तरगतको हुनपर्ने पनि बताउनुभयो । यसका लागि संघीयतावादीहरुसँग समन्वय गरेर अगाडि बढ्ने पनि उहाँले जानकारी गराउनुभयो ।