माघ–२६, व्यवसायी कुटपिटमा संलग्न अभियुक्तलाई बीना कारबाही छुट्कारा दिइएको बिरोधमा उद्योग बाणिज्य संघले खोटाङको व्यापार व्यवसाय तथा यातायात सेवा बन्द गरेको छ । 
महिना दिनअघि आफ्नो सदस्य योगराज लुईटेललाई मरणासन्न हुनेगरी कुटपिट गर्ने बिजयखर्क–८ का बृखबहादुर खनाल र उनका छोरा गणेश खनाललाई जिल्ला अदालतले छुट्कारा दिएको बिरोधमा खोटाङ उद्योग बाणिज्य संघले जिल्लाको व्यापार व्यवसाय एबं यातायात सेवा ठप्प पारेका हुन् । 
न्यायलयले नै अपराधिलाई सहजढंगले छुट्कारा दिएको बिरोधमा संघको आव्हान गरिएको बन्दका कारण शुक्रबार बिहानदेखि जिल्लाको यातायात सेवा तथा व्यापार व्यवसाय ठप्प बनेका छन् । भोली शनिबारसम्म जिल्लाको व्यापार व्यवसाय एबं यातायात सेवा ठप्प पारिने खोटाङ उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष राजेन्द्र लयालुले बताउनु भयो ।  
जिल्लाको अपराधिक कृयाकलाप नियन्त्रण गर्न प्रशासन, प्रहरी र न्यायलय सजग रहनु पर्ने, अपराधीलाई दण्ड गर्नु पर्ने, सुरक्षाको प्रत्याभुती दिलाउनु पर्ने, दण्डहिनताको अन्त्य गरिनु पर्ने, अपराधीको मनोबल बढाउने खालका क्रियाकलापहरु नियन्त्रण गरिनु पर्ने लगायतका माग गर्दै उद्योग बाणिज्य संघले चरणबद्ध आन्दोलन थालेको छ । 
संघका सदस्य समेत रहेका लुइटेलमाथि कुटपिटमा संलग्न खनालद्धयलाई कारबाही गर्नुको सट्टा अदालतले पाँच हजार धरौटीमा छाड्न निर्देशन दिएको भन्दै उद्योग बाणिज्य संघ अदालत बिरुद्ध आन्दोलित भएका हुन् । 
अदालतको आदेशपछि व्यवसायी लुइटेलमाथि कुटपिटमा संलग्न आरोपीहरु गत माघ–१२ गते रिहा भइसकेका छन् । ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएकाले अदालतले खनालद्धयलाई धरौतीमा छुट दिन नमिल्ने उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष लयालुको भनाई छ । 
तीन वर्षअघि दिएको ऋण उठाउन गएका होटल व्यवसायी लुईटेललाई खनाल बाबुछोराले गत पुस–१४ गते निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट टाउको र हात खुट्टामा गहिरो चोट लागेका लुईटेलको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भएको थियो । लुइँटेल अझै पूर्ण निको भइनसकेको उहाँका पारिवारको भनाइ छ । कुटपिटमा संलग्न वृखबहादुर खनालका अर्का छोरा राजन भने हालसम्म फरार छन् । 
उद्योग बाणिज्य संघले व्यवसायी लुईटेल कुटिएको भोली पल्ट पुस–१५ गते पनि दोषीलाई कारबाहीको माग गर्दै दिक्तेल बजार बन्द गराएको थियो ।