माघ–२७, खोटाङ र उदयपुरको सिमामा पर्ने फोक्सिङटारस्थित सुनकोशीमा बेलीब्रीज वा फेरी सञ्चालनकालागि शसस्त्र प्रहरीका पुर्व महानिरिक्षक सनतकुमार बस्नेत लगायत ईन्जिनियरको टोलीले बेलीब्रीज निर्माणकालागि प्रारम्भिक अनुसन्धान गरेको छ ।
फोक्सिङटारबाट उदयपुरतर्फको सडक खण्ड निर्माण भइसकेको र खोटाङतर्फको सडकखण्ड पनि निर्माणको अन्तीम चरणमा पुगीसकेको अवस्थामा फोक्सिङटारमा बेलीब्रीज सञ्चालनकालागि प्रारम्भिक अध्यायन गरिएको हो । 
सडक निर्माणसँग सम्बन्धित ईन्जिनियरहरुका साथमा फोक्सिङटार आउनु भएका शसस्त्र प्रहरीका पुर्व महानिरिक्षक बस्नेतले बेलीब्रीज वा फेरी सञ्चालन गर्ने बिषयमा स्थानीयबासीसँग छलफल गर्नु भएको छ । 
यसकालागि फोक्सिङटारमा एक समिति समेत निर्माण गरिएको शसस्त्र प्रहरीका पुर्व महानिरिक्षक सनतकुमार बस्नेतले बताउनु भयो । दिक्तेल–गाइघाट सडक सञ्चालनमा ल्याउन तत्कालकालागि नदीमा वारपार गर्ने कुनै एक माध्यम निर्माण गरिने उहाँको भनाइ छ । 
फोक्सिङटारमा पुलको बिकल्पका बारेमा ईन्जिनियरहरुले प्रतिबेदन तयार पार्ने बस्नेतले बताउनु भयो । फोक्सिङटारमा बेलीब्रीज वा फेरी राख्न सकिए खोटाङबाट सिधा उदयपुरको गाईघाटसम्म यातायात सेवा सञ्चालनमा आउने छन् । 
खोटाङ र ओखलढुंगाको सिमामा पर्ने जयरामघाटस्थित दुधकोशीमा बेलीब्रीज सञ्चालनको तयारी गरिएको केही समयपछि नै फोक्सिङटारमा पनि बेलीब्रीज वा फेरी राख्ने पहल शुरु गरिएको हो । 
जयराममा बेलीब्रीज निर्माणकालागि त्यसको प्लेटफर्म निर्माण भइसकेको र बेलीब्रीजको जगमा राखिने जालीमा ढुंगा भर्ने काम थालिएको सडक बिभागले जनाएको छ ।