माघ–२७, आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण गर्ने प्रहरी छानविनगरी कार्वाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्न माग गर्दै खोटाङका तीन राजनीतिक दलले मानवअधिकार आयोगमा उजुरी दिएका छन् । 
सरकार विरुद्ध आन्दोलन गर्दै आएका आन्दोलनकारीमाथि शुक्रबार प्रहरी हस्तक्षेप भएपछि हस्क्षेपकारी प्रहरीलाई कार्वाही गरिनुपर्ने भन्दै नेपाली काग्रेस, नेकपा एमाले र राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीले आयोगमा उजुरी दिएका हुन् । 
वर्तमान बाबुराम भटराई सरकार असंवैधानिक, सर्वसत्तावाद र निरंकुश भएको भन्दै आन्दोलनमा उत्रिएका विपक्षी दल र प्रहरीवीच शुक्रबार खोटाङमा दोहोरो झडप भएको थियो । 
आन्दोलनरत विपक्षी दल जिल्ला प्रशासन कार्यालयमा ताला लगाउन गएका बेला आन्दोलनकारी र प्रहरीवीच दोहोरो झडप हुँदा नेपाली काग्रेसका महासमिति सदस्य अटलशेर राई, नेकपा एमालेका सचिव राजन राई, उपसचिव राम दंगाल, राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीका अध्यक्ष ललितकुमार राई, नेपाल विद्यार्थी संघका अध्यक्ष दिनेश घिमिरे, सचिव राजकुमार राई, सदस्य नविन राई, अनेरास्ववियुका केन्द्रीय सदस्य दिपक ठटाल, जिल्ला संयोजक मिलन राई, सचिव खेमराज देउसाली, युवा संघ नेपालका सचिव प्रमोद श्रेष्ठ, महिला संघका सदस्य डिल्लीकुमारी आचार्य, गैंरसरकारी संस्था महासंघका युवराज रिजाललगायत दर्जनबढी नेता तथा कार्यकर्ता घाइते भएका थिए । 
यस्तै, आन्दोलनकारीको ढुंगामुढाबाट सरक्षामा खटिएका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक कमल रजौरेलगायत तीन प्रहरी समेत घाइते भएका थिए ।