फागुन–६, खोटाङको राजापानी–१ का समुदाय पहिलो पटक धाराको पानी खान पाएपछि हर्षीत भएका छन् ।
नजिक श्रोत नभएपछि पाँच घण्टा टाढा धाएर खोलाको पानी खाँदै आएका उनीहरु पहिलो पटक धाराबाट आएको पानी खान पाएपछि हर्षीत भएका हुन् ।
२६ लाख २० हजार दुई ५७ रुपैयाँ बराबरको लागतमा जलश्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटासको आर्थिक सहयोग तथा जीवनस्तर सुधार कार्यक्रम लिलीको साझेदारीमा ६ वटा धारा निर्माण गरिएपछि त्यहाँका उपभोक्ताले पहिलो पटक धाराको पानी उपभोग गर्न पाएका छन् ।
खोलाको पानी खाँदै आएका उनीहरु पहिलो पटक धाराको पानी उपभोग गर्न पाएपछि हर्षीत हुँदै भन्छन्, ‘खोलाको पानी खाँदाखाँदा पशुको जस्तो जीवन थियो, धाराको पानी खान पाइयो, बल्ल मानव जस्तो भएको महशुस भएको छ ।’
नामले त्यस गाविसलाई राजापानी भनिएपनि नजिकमा कतै पानीको श्रोत नभएपछि तीन लाखमा मुहान खरिद गरेर आठ किलोमिटर टाढाबाट त्यस ठाँउमा पाइपमार्फत पानी पु¥याइएको जलश्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटासका प्राविधिक अफिसर बिक्रमसिं रानाले बताउनुभयो ।
खानेपानीको धारा निर्माणसँगै ३२ घरधुरी रहेको त्यस गाउँका प्रत्येक घरमा चर्पी समेत निर्माण गरिएको छ । ‘एक घर, एक चर्पी, नजिकैमा धारा, खुल्ला दिशामुक्त देश बनाउन लागि परौं सारा’ भन्ने नाराका साथ प्रत्येक घरमा चर्पी निर्माण गरिपछि त्यस क्षेत्रलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गाविस सचिव केदारनाथ खनालले बताउनुभयो ।
बाँसघारी र खोल्साखाल्सीमा दिसापिसाब गर्दै आएकोमा चर्पी निर्माण गरिएपछि बुढापाकादेखि बालबालिकालाई समेत सहज भएको स्थानीय देवका बुढाथोकीले बताउनुभयो । चर्पी निर्माण गरिएपछि आफहरुका लागि मात्र नभइ घरमा आउने पाहुनालाई समेत सहज भएको अर्का स्थानीयबासी थिरबहादुर खड्काले बताउनुभयो । खड्का भन्छन्, ‘घरमा आउने पाहुनाले सोध्थे ! चर्पी कता छ नि ? त्यो बेला मुसुक्क हाँस्नु बाहेक अन्य कुनै विकल्प थिएन ।’
पानीको धारा र चर्पी एकैचोटी निर्माण गरिएसँगै दैनिक सरसफाई र अनुगमनलाई निरन्तरता दिने निर्णय पनि गरिएको खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गोविन्दबहादुर थापामगरले बताउनुभयो ।