फागुन–७, खोटाङका भूमीहिनहरुले जग्गामालिकले कुत बुझाएको रसिद नदिएको गुनासो गरेका छन् । 
आत्मनिर्भर सेवा केन्द्र काठमाडौंको सहयोगमा जिल्ला भूमी अधिकार मञ्च खोटाङले सोमबार सदरमुकाम दिक्तेलमा आयोजना गरेको ‘भूमी तथा कृषि अधिकार अभियान’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भूमीहिनहरुले कुत बुझाए पनि जग्गामालिकले भर्पाई नदिएको गुनासो गरेका हुन् । 
साहुलाई प्रत्येक वर्ष कुत बुझाएको भर्पाई माग्दा जग्गा मालिकले नदिनेगरेको महादेबस्थानका भूमीहिन भूपेन्द्र राईले बताउनुभयो । वर्षौ अघिदेखि जग्गा भोगचलन गर्दै आएका भूमीहिनले आफ्नो जग्गामाथि दावी गर्ने डरका कारण जग्गा धनीले जग्गा कमाइरहेका भूमीहिन परिवारलाई कुत बुझाएको भर्पाई नदिने गरेको आत्मनिर्भर सेवा केन्द्र खोटाङ संयोजक गोपाल गुरुङले बताउनुभयो । कुत बुझाएको भर्पाईकालागि जोड गरे उल्टै जग्गाधनीले जग्गा कमाउन नदिने धम्की दिने गरेको भूमीहिन राईको भनाई छ । 
हातमुख जोर्नकालागि कजाउँदै आएको जग्गा छाड्नुपर्ने त्रासमा भूमीहिन परिवार पनि बीना भर्पाई कुत बुझाउन बाध्य भइरहेको आत्मनिर्भर सेवा केन्द्रका क्षेत्रीय संयोजक भोला बस्नेतले बताउनुभयो । 
साहुको जग्गा कजाएर जीवनयापन गर्दै आएका जिल्लाका १ सय ६३ घर भूमीहिनहरुले हालसम्म साहुलाई कुत बुझाएको भर्पाई नपाएको भूमीअधिकार मञ्चले जनाएको छ । ‘सुरक्षित घरबास सबैलाई, खेतीयोग्य जमिन सबैलाई’ भन्ने नारासहित सदरमुकाम दिक्तेलस्थित सरस्वति उच्च माविको हलमा आयोजना गरिएको कार्यक्रममा उपस्थित भूमीहिनले जिल्लाका कुनै पनि दलहरुले आफ्नो पक्षमा कुरा नउठाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । 
जनसेवा समाज नेपाल जालपा खोटाङका अध्यक्ष ईमान राईकाअनुशार जिल्लाका १ सय ६३ परिवारको नाममा जग्गा छैन । आफ्नो नाममा जग्गा नभएका सबै भूमीहिनहरु साहुको जग्गा र घरमा जीवनयापन गर्दै आएका छन् । एकदेखि तीन महिनाभन्दा बढि खान नपुग्ने भूमीहिनहरु साहुले छाडेको पूरानो घरमा पनि बसोबास गर्दै आएका छन् ।