फागुन–९, खोटाङमा संयुक्त लालपुर्जा बनाउने दम्पत्तीको संख्या बढेको छ । 
एउटै जग्गामा श्रीमान र श्रीमतीको समान स्वामित्व कायम गर्दै सुकुम्बासी र भूमीहिन न्यूनीकरणकालागि जिल्लामा संयुक्त लालपुर्जा बनाउन थालिएको हो । जिल्ला मालपोत कार्यालय खोटाङका प्रमुख बिनोद गेलालका अनुशार छोटो समयमै जिल्लाका ११ जोडीले संयुक्त लालपूर्जा बनाएका छन् । 
श्रीमान वा श्रीमतीले आफ्नो नाममा भएको जग्गा एकले अर्कालाई थाहै नदिइ बिक्री गर्ने गरेको उदाहरणहरुलाई मध्यनजर गर्दै जिल्लामा संयुक्त लालपुर्जा बनाउने अभियान थालिएको आत्मनिर्भर सेवा केन्द्रका खोटाङ संयोजक गोपाल गुरुङले बताउनु भयो । 
बुधबार मात्र दुर्छिम–९ हैडेका राजकुमार राई र उहाँका श्रीमती अमिता राईले जिल्ला मालपोत कार्यालयमार्फत संयुक्त लालपुर्जा बनाउनु भएको छ । 
जग्गामा समान स्वामित्व कायम गर्न र भूमीमाथिको स्वामित्वमा सबैको पहुँच पु¥याउनकालागि श्रीमान र श्रीमतीहरु पनि उत्साहित भएको संयोजक गुरुङले बताउनु भयो । 
आत्मनिर्भर सेवा केन्द्र काठमाडौं र जनसेवा समाज नेपाल जालपा खोटाङको प्रयासमा तीन महिना अघि थालिएको यो अभियानमा हालसम्म हलेसी–७ का गणेशबहादुर राई र झ्याप्पीमाया राई, हलेसी–७ कै केदार राई र कुरुङसरी राई, दुर्छिम–३ का बयनसिं राई र कुमारी राई, दुर्छिम–४ का देवान राई र सत्तीसरा राई, दुर्छिम–२ का शंखराज राई र मधुमायाँ राईले संयुक्त लालपूर्जा बनाउनु भएको छ । 
यस्तै,  दुर्छिम–७ का हिरबहादुर राई र लीलासरी राई, दुर्छिम–४ का युबक राई र मिनसरी राई, दुर्छिम–४ का कुबिर राई र भबीसरा राई, दुर्छिम–१ का दिलबहादुर राई र ज्ञानसरी राई तथा बडहरे–५ का बमबहादुर तामाङ र सुखमाया तामाङले पनि दुबैको नाममा जग्गा पास गरिसक्नु भएको छ ।
जिल्लामा श्रीमान र श्रीमती दुबैको नाममा जग्गा पास गर्ने जोडीहरुको संख्या बढ्दो छ । संयुक्त लालपुर्जा बनाएपछि जग्गाको बिषयमा ढुक्क हुने ठाउँ बनेको बडहरे–५ का सुखमाया तामाङले बताउनु भयो । 
संयुक्त लालपुर्जा बनाएपछि श्रीमान वा श्रीमती एक्लोले मात्र जग्गा बेचबिखन गर्ने बाटो बन्द हुने भएकाले जग्गामा मनपरी हुने डर नहुने दुर्छिम–१ का ज्ञानसरी राईको भनाई छ । 
जनसेवा समाजको एक अध्यायनकाक्रममा कतिपय परिवार संयुक्त लालपूर्जा नभएकै कारण भूमीहिन बनेको भेटिएपछि जिल्लामा संयुक्त लालपूर्जा बनाउने अभियान थालिएको हो । समाजका अनुशार जिल्लामा १६३ घर भूमीहिनहरुको बसोबास रहेको छ ।