फागुन–१५, पिपिआर रोगका कारण खोटाङको उत्तरी क्षेत्रका किसानले पालेका बाख्राहरु धमाधम मर्न थालेका छन् । 
आफूले पालेको बाख्रा धमाधम मर्न थालेपछि त्यस क्षेत्रका किसानहरु चिन्तित बनेका छन् । केहीदिनदेखि फैलिएको रोगका कारण महेश्वरी, ज्यामिरे, राखाबाङ्देल, जलेश्वरी, माक्पा, ऐसेलुखर्क, दुवेकोल, डुम्रेधारापानी, बाकाचोललगायतका गाविसमा बसोबास गर्ने किसानहरुले पालेका बाख्राहरु धमाधम मर्न थालेका हुन् । 
एक्कासी फैलिएको पिपिआर रोगका कारण महेश्वरी–१ का फडिन्द्र बस्नेतको १२ वटा, देवकुमारी बिसीको दुई वटा,  महेश्वरी–३ का कुलप्रसाद पाण्डे र दिनानाथ भटराईको दुई÷दुई वटा बाख्रा मरेको सामाजिक परिचालक भक्त राईले जानकारी दिनुभयो । राईका अनुसार अन्य गाविसका किसानले पालेका बाख्राहरु पनि धमाधम गर्न थालेका छन् ।
यसैवीच, किसानहरुले पालेका बाख्रा मर्न थालेपछि जिल्ला पशु सेवा कार्यालय खोटाङ र सगरमाथा तरुण जागृति क्लव खार्पाले पहिलो पटक रोग देखा परेको महेश्वरी गाविसमा पिपिआर रोग विरुद्ध खोप अभियान सञ्चालन गरेको छ । 
अन्य बाख्राहरु बचाउनुका साथै अन्य गाविसका किसानहरुले पालेका बाख्रामा सर्न नदिनका लागि खोप अभियान शुरु गरिएको क्लवले जनाएको छ । सोमबार महेश्वरी–१ मा सञ्चालन गरिएको खोप अभियानमा साँढे चार सय बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइएको छ । 
गरिबी निवारण कोष र सगरमाथा तरुण जनजागृति क्लव खार्पाको साझेदारीमा दुई वर्षअघिदेखि त्यस क्षेत्रमा बाख्रा पालन कार्यक्रम सञ्चालन भइरहेको छ । मागमा आधारित सामुदायिक विकास कार्यक्रम अन्तरगत महेश्वरी र ज्यामिरे गाविसमा बाख्रा कार्यक्रम सञ्चालन भइरहेको हो ।