फागुन – १७, उल्टो मोटरसाईकल चलाएर मेची महाकाली यात्रा गरिसकेका चित्रकुमार कार्की जीपको ठक्करबाट घाईते हुनुभएको छ ।
जयरामबाट सदरमुकाम दिक्तेलतर्फ आउनेक्रममा दिक्तेल–जयराम सडक खण्ड अन्तरगत दुर्छिममा को १ च ४२९४ नम्वरको जीपको ठक्करबाट उदयपुरका कार्की घाईते हुनु भएको हो ।
जीपको ठक्करबाट ५० मिटर तल खसेका कार्की अहिले स्वास्थ्यकर्मीको सल्लाह अनुसार सदरमुकाम दिक्तेलस्थित नमस्ते होटलमा आराम लिइरहनु भएको छ ।
ठक्करबाट हात र खुट्टामा गहिरो चोट लागेका कार्कीको हलेसी पोलिक्लिनिक दिक्तेलमा उपचार गरिएको थियो । पुर्खौली घर खोटाङ भएका कार्की घरायसी कामका सिलसिलामा दिक्तेल आउनेक्रममा दुर्घट्नामा पर्नु भएको हो । दिक्तेल–जयराम सडक खण्ड अन्तरगत दुर्छिममा मंगलबार भएको दुर्घटनामा कार्कीको मोटरसाईकल पूर्णरुपमा क्षतीग्रस्त बनेको छ ।
‘शान्ति र संबिधान युवाको अभियान’ भन्ने नारासहित गत वर्ष उल्टो मोटरसाईकल चढेर मेचीमहाकाली यात्रा गरिसकेका कार्कीले बिश्व उल्टो मोटरसाईकल यात्रा गर्ने तयारी गरिरहनु भएको छ ।
कार्कीको बिश्व उल्टो मोटरसाईकल यात्राका लागि सहयोगार्थ उदयपुरस्थित त्रियुगा टाइम्स साप्ताहिककले गत पुस–७ गते इलामदेखि मुलुकका बिभिन्न शहरहरुमा आर्थिक श्रोत जुटाउन नेपाल यात्रा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।