फागुन–१९, खोटाङ र ओखलढुंगाको सिमामा पर्ने जयरामघाटस्थित दुधकोशीमा पहिलोपल्ट बेलीब्रीज सञ्चालनमा आएको छ । 
जयरामघाटमा सञ्चालित फेरीलाई दुधकोशीले बगाएको आठ महिनापछि त्यसको बिकल्पकारुपमा बेलीब्रीज सञ्चालनमा ल्याइएको हो । पश्चिम नेपालको धनगढीस्थित गोदावरीबाट बेलीब्रीजको आवश्यक सामग्रीहरु ल्याएर जयरामघाटमा शनिबार बिहानदेखि बेलीब्रीज सञ्चालनमा ल्याइएको सडक बिभागले जनाएको छ । 
प्रत्येक वर्षको हिउँदभर सञ्चालन गरिने र वर्षाको समयमा खोलेर राख्नेगरी जयराममा अस्थायी बेलीब्रिज निर्माण गरिएको सडक बिभागका इन्जिीनियर बिष्णु काफ्लेले बताउनु भयो । सडक बिभागको धनगढीस्थित पूरानो क्षेत्रीय कार्यालयबाट चार वटा ट्रकमार्फत ल्याइएको बेलीब्रीजका सामानहरु जडान गरी जयराममा बेलीब्रिज सञ्चालनमा ल्याइएको इन्जिीनियर काफ्लेको भनाई छ । 
शुक्रबार निर्माण कार्य पूरा भएको बेलीब्रिजमा अहिले गाडी हिँडाएर कमजोर नटहरु जाँच गर्दै कस्ने र द¥हो बनाउने काम पनि भइरहेको छ । 
जिल्लाको प्रमुखद्धारकारुपमा रहेको जयराममा बेलीब्रीज सञ्चालनमा आएपछि अव खोटाङबाट राजधानी काठमाडौं लगायत सबै शहरहरुमा सिधा यातायात सेवा बिस्तार भएको छ । 
छिमेकी जिल्ला ओखलढुंगा र उदयपुरको हर्कपुरस्थित सुनकोशीमा बेलीब्रीज सञ्चालनमा आइसकेको अवस्थामा जयराममा निर्माण भएको बेलीब्रीजले जिल्लामा दैनिक उपभोग्यबस्तुको मूल्यामा कमी आउने खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष खुसनारायण शैंजूले बताउनु भयो । जयरामको फेरी बगेपछि जिल्ला र तराईसँगको सिधा यातायात सम्पर्क बिच्छेद भएको थियो, भने तराईबाट भित्रिने उपभोग्य सामानहरु सुनकोशीको हर्कपुर र दुधकोशीको जयराममा झार्नु र चढाउनु पर्ने बाध्यता थियो । 
शसस्त्र प्रहरीका पुर्व महानिरिक्षक सनतकुमार बस्नेत, कृषिबिज्ञ मदन राई लगायत खोटाङका अगुवाहरुको पटक–पटकको आग्रहमा नेपाल सरकारको सडक बिभागले दुधकोशीमा बेलीब्रीज हाल्न अघि सरेका हुन् । 
डोरी चुँडिएपछि गत असार–४ गते नदीले बगाएको जयरामको फेरी उदयपुर र खोटाङकोबीचमा पर्ने धाब्लाङस्थित सुनकोशी नदीमा पुगेको छ । फेरीको अभावमा जिल्लाको यातायात सेवा प्रभावकारी नभएको र दैनिक उपभोग्य बस्तुको मूल्या आकाशिएको भन्दै जिल्लाका अगुवाहरु जयराममा बेलीब्रीज सञ्चालनका लागि अघिसरेका थिए । 
जिल्लाका अगुवाहरुको टोलीले खोटाङ र उदयपुरको फोक्सिङटारमा पनि फेरी वा बेलीब्रीज सञ्चालनको पहल गरिरहेको शसस्त्र प्रहरीका पुर्व महानिरिक्षक सनतकुमार बस्नेतले बताउनु भयो ।