फागुन–२२, नेकपा–माओबादीका कार्यकर्ताको गोली प्रहारबाट खोटाङमा युवा संघ नेपालका कार्यकर्ता  घाईते भएका छन् । 
नेकपा–माओबादी नेर्पा गाउँ कमिटिका लोकेन्द्र राई र ध्रुव राईको गोली प्रहारबाट युवा संघ नेपाल गाउँ कमिटि नेर्पाका अध्यक्ष पविन राई घाईते भएका हुन् । नेकपा एमाले ७ नम्बर ईलाकाको छैठौं तथा गाउँ कमिटि नेर्पाको दशौं अधिबेसनको प्रचार प्रसार गरेर घर फर्कदै गरेको अवस्थामा सोमबार राती ९ बजे पविनमाथि भरुवा बन्दुकले हानिएको नेकपा एमालेका अध्यक्ष बिशाल भट्टराईले बताउनु भयो । 
ढाडको दायाँ भाग र देब्रे गालामा गोली लागेका पविनको अहिले जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ । 
आज मंगलबार हुने ईलाका र गाउँ अधिबेसनको प्रचार प्रसारमा खटिएका पविनलाई मातेको अवस्थामा नेकपा–माओबादीका कार्यकर्ताले गोली हानेको युवा संघ नेपाल खोटाङका सचिव प्रमोद श्रेष्ठले बताउनु भयो । हातबाट माईक खोसेपछि केही भनाभन भएको र त्यसको केही समयपछि भरुवा बन्दुक लिएर प्रहार गरेको घाईते पविन राईले बताउनु भयो । 
गोली प्रहारमा संलग्न राईद्धय नेर्पा–३ र घाईते पविन नेर्पा–५ का स्थानीयबासी हुन् । घाईते राईको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । गोली प्रहार गर्ने दुबैजना अहिले फरार छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । नेकपा–माओबादी खोटाङका इन्चार्ज ध्रुब बुढाथोकी ‘धिरेन’ले भने आफ्ना कार्यकर्ताले घट्नाको बारेमा जानकारी नदिएको बताउनु भयो ।
यसैबीच, आफ्ना कार्यकर्तामाथि गोली प्रहार भएको घट्नाप्रति युवा संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका केन्द्रीय सदस्य दिलचक्र राईले बिज्ञाप्ती जारी गर्दै गोली प्रहारमा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्नु भएको छ ।