फागुन–२३, जिल्ला प्रशासन कार्यालय खोटाङले अवैध हातहतियार तथा खरखजना बुझाउन जिल्लाका सर्वसाधारणलाई आग्रह गरेको छ । 
जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक सुचना जारी गरी विना इजाजतका अवैध हातहतियार तथा खरखजनाहरु एक महिनाभित्रमा बुझाउन आग्रह गरेको हो । 
अवैध हतियारबिहिन समाज स्थापना गर्दै शान्ति सुरक्षाको व्यवस्थापनकालागि आफुसँग राखिएका अवैध हातहतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनु भयो । 
कानूनी व्यवस्थाका बारेमा जानकारी नभएर वा कसैको लहैलहैमा लागेर राखिएका अवैध हातहतियार तथा खरखजनाहरु जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाएर सहयोग गर्न आग्रह गरिएको छ । 
तोकिएको अवधिभित्र इजाजत विनाका अवैध हात हतियार तथा खरखजना बुझाउने नागरिकलाई हातहतियार तथा खरखजना ऐन २०१८ अनुशारको कारबाहीबाट छुट दिने तर एक महिने म्याद सकिएपछि पनि अवैध हतियार नबुझाइएको भेटिएमा प्रचलित कानून बमोजिम ५ वर्षसम्म कैंद सजाय वा एक लाखसम्म जरिवाना वा दुबै जरिवाना गरिने प्रशासनले जनाएको छ । 
अवैध हातहतियार बुझ्न र बुझाउनकालागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाहेक ईलाका प्रहरी कार्यालय ऐसेलुखर्क, ईलाका प्रहरी कार्यालय खोटाङबजार र ईलाका प्रहरी कार्यालय चिसापानीमा सम्पर्क स्थान तोकिएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनु भयो । 
जिल्लामा सामाजिक प्रतिष्ठा तथा सुरक्षाको संबेदनशिलताको आधारमा अनुमति लिएर हतियार राख्नेको संख्या धेरै छन् ।