फागुन २९ – जिल्ला प्रहरी कार्यालय खोटाङले तीनहप्ताअघि बरामत गरेको मिसावट मह नष्ट गरेको छ ।

जिल्ला प्रशासन कार्यालय खोटाङ, कोलेनिका, प्रहरी र पत्रकारहरुको रोहबरमा दुई सय केजीभन्दा बढी मिसावट मह नष्ट पारिएको हो । गत फागुन–४ गते सदरमुकाम दिक्तेलको मुडे क्षेत्रमा बिक्री गर्दै गरेको अवस्थामा मिसावट मह बरामत गरिएको थियो ।

सिरहा मिर्चैया–५ का ४० वर्षीया कुन्जोलाल धामी, ३० वर्षीया कुन्जुदेवी धामी, २२ वर्षीय ललन धामी, १८ वर्षीया सोहनकुमार धामी, १७ वर्षीय ज्योतिषकुमार धामी, १८ वर्षीय मुकेशकुमार धामी र १७ वर्षीय विकेशकुमार धामीले चिनी र वनस्पती घ्यू मिसाएर मिसावट मह बिक्री गरिरहेको अवस्थामा पक्राउगरी बरामद गरेको थियो । पक्राउ परेका सातै जनालाई अनुसन्धानपछि छाडीदिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजिव बस्नेतले जानकारी दिनुभयो ।