फागुन २९ – ट्याक्टर व्यवसायी संघ खोटाङले आफूहरुमाथि भएको आक्रमणमा संलग्नलाई कारबाही र उचित क्षतिपूर्तीको माग गरेको छ । संघले एक विज्ञप्ती जारी गर्दै फागुन–२४ गते आफूहरुमाथि भएको आक्रमणको विषयलाई लिएर यस्तो माग गरेको हो ।
खोटाङको कुभिण्डे–८ बस्ने दिवस राई, उमेश राई, नविन राई, रोज राई, डिबी खालिङ, भिमकुमार राई, सविन राईलगायतका १५–२० जनाको समूहले चालक र सहचालकलाई कुटपिट गर्नुका साथै ट्याक्टर तोडफोड गरेको विषयलाई लिएर दोषीलाई कारबाही र उचित क्षतिपूर्तीको माग गरिएको विज्ञप्तीमा उल्लेख छ । संघका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’ले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा घटनामा संलग्नलाई पक्राउगरी कारबाही गरिनुपर्ने, बिरामीहरुलाई तत्काल औषधि उपचारको व्यवस्था गरिनुपर्ने, ट्याक्टरमा पुगेको क्षतिको उचित क्षतिपूर्ती दिलाइनुपर्नेलगायतका माग गरिएको छ ।
गत फागुन–२४ गते दिक्तेलबाट ईटहरी र जालपा जाँदै गरेको  दुईवटा ट्याक्टरका चालक र सहचालकलाई कुटपिट गर्नुका साथै दुबै ट्याक्टरमाथि तोडफोड गरेका थिए । बाम्राङ–८ का रामकुमार हिङ्माङको ना ३ त ४५६८ र जालपा–२ का बेमकुमार श्रेष्ठको को २ त १२१२ नम्बरको ट्याक्टरका चालक र सहचालकमाथि दिक्तेलको वातलमा आक्रमण भएको थियो ।
हिङ्माङको ट्याक्टर चालक अविचन्द्र दर्जी, सहचालक रबिन हिङ्माङ तथा श्रेष्ठको ट्याक्टर चालक रन्जन राई र सहचालक मनबहादुर श्रेष्ठलाई कुटपिट गरेका थिए । घटनामा संलग्न व्यक्तिहरु भने फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।