चैत्र–२, खोटाङ र काठमाडौंकोबीचमा पर्ने दुधकोशी र सुनकोशी नदीमा बेलीब्रिज निर्माण भएपछि खोटाङबाट काठमाडौंसम्मका लागि सिधा यातायात सेवा शुरु भएको छ ।

आज विहानबाट यातायात सेवा शुरुभएसँगै सदरमुकाम दिक्तेलबाट दैनिक दई वटा यात्रुबाहक बस छुट्न थालेको यातायात व्यवसायी संघ खोटाङका अध्यक्ष विदुर लुईटेलले बताउनुभयो । अध्यक्ष लुईटेलका अनुसार काठमाडौंकालागि बस दैनिक बिहान ५ बजे र दिउँसो साँढे तीन बजे छुट्ने छ । आवश्यक परे अन्य समयमा पनि बस छुट्ने संघले जनाएको छ ।

दिक्तेलबाट काठमाडौं जानकालागि प्रतिव्यक्ति १ हजार ४ सयका दरले भाडा निर्धारण गरिएको अध्यक्ष लुईटेलले जानकारी दिनु भयो । यातायात सेवा नियमित र प्रभावकारी बन्दै गएपछि भाडा दर घटाइने संघले जनाएको छ ।

दिक्तेल–काठमाडौं सिधा यातायात सेवा शुरु भएपछि कम खर्चमै राजधानीसम्मको यात्रा गर्न सकिने भएको छ । यात्रुहरुको आवश्यकता र बाध्यतालाई मध्येनजर गर्दै काठमाडौंका यातायात व्यवसायीसँगको समन्वयमा यातायात सेवा सञ्चालन शुरु गरिएको अध्यक्ष लुईटेलको भनाई छ ।

सिधा यातायात सेवा शुरु भएसँगै यात्रुहरुले सडकको बिभिन्न ठाउँमा बस परिवर्तन गर्नुपर्ने समस्याबाट मुक्ति पाएका छन् । यसअघि काठमाडौं जानकालागि खोटाङको जयराम, उदयपुरको हर्कपुर, घुर्मी र कटारी लगायतका ठाउँमा सवारी साधन परिर्वतन गर्नुपर्ने बाध्यता थियो ।