छितापोखरी– ६ की २६ वर्षीय बिष्णु श्रेष्ठ (कार्की) को जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि हेलिकोप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौं लगिँदै । तस्विर: केदार मगर/खोटाङ

सामान्यत बिरामीलाई एम्बुलेन्सबाट ओसारपसार गरिन्छ । तर, छैन खोटाङको अवस्था । गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामा १ लाख २० हजारदेखि १ लाख ५० हजारसम्म तिरेर हेलीकोप्टरगरी ओसारपसार गरिन्छ ।

जिल्लामा भरपर्दो सडक यातायात सेवा नहुँदा जिल्लाका बिरामीका आफन्तहरु चर्को मूल्यमा हेलीकोप्टर चार्टर गर्न बाध्य छन् । जिल्लामा हप्ताको तीनदेखि पाँच पटकसम्म हेलीकोप्टर चार्टर गरिन्छ । अस्पतालले रेफर गरेका बिरामीलाई एम्बुलेन्सको साटो तिनै चार्टर गरिएको हेलीकोप्टरले राजधानी पु¥याउँछ । जिल्लामा थप उपचार गर्नुपर्ने गम्भीर प्रकृतिका बिरामीलाई तत्काल काठमाडौं लैजान परे अस्पतालको एम्बुलेन्सभन्दा हेलीकोप्टरकै बढि प्रयोग हुन्छ ।

जिल्लाका कच्ची सडकमा गुड्ने एम्बुलेन्स प्रायः सामान्य बिरामी ओसारपसार गर्नमा मात्र प्रयोग भइरहेको छ । अर्कातर्फ पैसा हुनेले त तत्काल हेलिकोप्टर चार्टर गर्छन् तर, निम्न आर्थिकस्तर भएका अधिकांश सर्वसाधारण जीवन र मृत्युको दोसाँधमा छट्पटाएर बस्न बाध्य हुने गरेको स्थानीयहरुको भनाइ छ ।

१५ शैयाको जिल्ला अस्पतालमा सरकारले अनुभवी डाक्टर नपठाएका कारण नै जिल्लाका सर्वसाधारणले यस्तो मार खेप्नु परेको समाजसेवी दुर्गा घिमिरे बताउनुहुन्छ ।
जिल्लाका अधिकांश गाविसमा कच्ची सडकहरु निर्माण भएका छन्, तर भरपर्दोगरी यातायातका साधन चल्न सकेका छैनन् । चलेपनि तराई झर्न मात्र एक दिनभन्दा बढि समय लाग्छ ।

यस जिल्लामा तीनवटा विमानस्थलरहेका छन् तर, यसको नियमितताको टुङ्गो नै छैन् । उपचार गराउनका लागि एक जना बिरामीले  १ लाख ३० हजारदेखि १ लाख ५० हजारसम्म हेलिकोप्टरलाई भाँडा तिर्नुपर्छ । हुनेले त तुरुन्त हेलिकोप्टर झिकाउन सक्छ तर, सर्वसाधारणका लागि डेढ लाख भनेको चानचुने कुरा होइन भन्नुहुन्छ समाजसेवी घिमिरे । निम्न आय स्तर भएका  बिरामीले पैसा खोज्दा खोज्दै अकालमा ज्यान गुमाउनु पर्छ भने कत्तिले आर्थिक समस्याका बाबजुद पनि हेलिकोप्टर चार्टर गर्न बाध्य छन् ।

जिल्लामा भरपर्दो उपचार र प्रभावकारी सेवा पाए गरिब परिवारले पनि बाँच्न सक्ने जिल्लाबासीहरु बताउछन् ।