चैत्र–३, खोटाङमा व्यवस्थित बसपार्क नभएपछि बजार क्षेत्रका सडक नै बस बिसाउने थलो बन्दै गएको छ । जिल्लामा थुप्रै संख्यामा साना तथा ठूला सवारी साधन भित्रिए तर, त्यसलाई व्यवस्थित गर्ने उपयुक्त स्थानको अभावमा बजार क्षेत्रका सडक नै बस बिसाउने थलो बन्दै गएको हो ।

बजारक्षेत्रमा बटुवा हिड्ने सडकलाई नै बस बिसौनीको थलो बनाइएपछि सर्वसाधारणलाई बजार क्षेत्रमा आवतजावत गर्न निक्कै समस्या भएको छ । बीच सडकमा गाडी तेस्र्याएर राख्दा स्थानीयवासी, बटुवा र व्यापारी त्यसको प्रत्येक्ष मार खेप्न बाध्य भएका छन् ।

नेपाल सरकारको प्राथमिकतामा परेको मध्यपहाडी लोकमार्ग यसै जिल्लासँग जोडिएको छ । पूर्व–पश्चिम राजमार्गको केन्द्रबिन्दु बन्ने निश्चित भएको खोटाङमा स्थान अभाव र भौगोलिक विकटताले यातायात क्षेत्रमा निक्कै चुनौती थपिएको छ ।

यस्तै समस्यालाई निराकरण गर्न बसपार्क बनाउने उपयुक्त जग्गाको पनि खोजी नभएको भने होइन, तर यसको जिम्मेवारी सम्हालेको जिल्ला विकास समितिको योजना शाखामा डेढ वर्षअघिदेखि फाईल अड्किएर बसेको छ । कार्यालयले विज्ञापन प्रकाशित गर्दै निःशुल्क जग्गा दिने दाताहरुलाई निवेदन पेश गर्न आग्रह गरेपनि जग्गादाताहरुले पेश गरेको फाईल जिविसको टेवलसम्म पुग्यो तर, त्यसलाई चासोपूर्वक नहेरिँदा जिल्लाबासीले बसपार्कको समस्या झेल्नु परेको हो ।

बसपार्क निर्माणकै लागि भनेर दिक्तेलका विभिन्न ठाउँ र आसपासका जग्गादाताहरुले जम्मा ७५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने भनेर लिखित निवेदन दिएका छन् । बसपार्क निर्माणमा लाग्ने रकम बराबरको जनश्रमदान गर्ने पनि बचन दिएका छन्, तर प्रक्रिया अघि नबढ्दा जग्गादातामा निराशा छाएको छ ।

जग्गादातामध्येका राजन दाहालले यसप्रति सरोकारवाला निकायले चासो नदिएको समेत गुनासो गरेका छन् । बसपार्क चाँडो बन्ला भनेर निर्माणमा लाग्ने दश लाख रुपैयासम्म दिने प्रतिवद्धता जनाएपनि सरोकारवालाले चासो नदिँदा बसपार्क बनाउने कुरा कुरामै सिमित बनेको उहाँको भनाइ छ ।

उता, जिल्ला विकास समिति खोटाङका स्थानीय विकास अधिकारी युवराज अधिकारीले चाँड नै सर्वदलीय–सर्वपक्षीय बैठक बोलाएर निकास खोज्ने बताउनुभएको छ । जिल्ला विकास समितिका अनुसार आर्थिक वर्ष ०७०/०७१ को लागि २० लाख रुपैया बजेट विनियोजन गरिएको र अब चाँडै निर्माणका काम अघि बढाइने भएको छ ।

उता, यातायात व्यवसायी संघ खोटाङका अध्यक्ष विदुर लईटेलले भने, बजेट नभएकाले बसपार्क बन्न नसकेको बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘तत्काल बसपार्क बनाउन सबैले चासो दिनुपर्छ, व्यवस्थित बसपार्क नभएसम्म यातायातमा सुरक्षाको अनुभुत गर्न सकिँदैन ।’

६ वर्षअघि हेलिकोप्टरमार्फत जिल्लामा पहिलोपटक यातायातका सवारी साधन भित्र्याइएको थियो । हेलिकोप्टरमार्फत जिल्ला भित्र्याइएको गाडी हेर्न जिल्लाबासीको भीड नै लागेको थियो । तर, गाडी त आयो कहिलेसम्ममा व्यवस्थित हुने हो ! त्यो त हेर्न बाँकी नै छ ।